धरान (सुनसरी) । जिल्लाको रामधुनी नगरपालिकासँगको सहकार्यमा रामधुनी थारु महिलासभा कार्यसमितिले ढकिया बुन्ने तालिम उपलब्ध गराएपछि यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन् । आयआर्जनका साथै माहिलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिइएको हो ।
रामधुनी–५ का सङ्गीता चौधरीले १५ वर्षदेखि सिलाइबुनाइ गर्दै आएकोमा अहिले योसँगै ढकिया बुन्ने व्यवसाय सुरु गरेकी छिन् । पहिले सीप अभावले काममा चुनौती र समस्या भए पनि पछिल्लो समय विभिन्न सङ्घसंस्थाले तालिम दिएपछि आफू आत्मनिर्भर हुनुका साथै अन्य महिलालाई प्रशिक्षक भएर सीप सिकाइरहेको उनले बताइन् ।
उनले भनिन्, ‘अहिले मैले महिलालाई ढकिया बुन्ने तालिम दिँदै आएको छु । महिलालाई आयआर्जनसँग जोड्दै आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाको सहयोगमा यहाँको महिला सभा कार्यसमितिले ढकिया बुन्ने तालिम उपलब्ध गराउँदै आएको छ । जुन सीपले यहाँका धेरै महिला आत्मनिर्भर बनिरहेका छन् ।’
ढकिया विशेष गरेर थारु समुदायमा अत्यधिक प्रयोग गरिन्छ । पूजा, विवाह, पाटीलगायत कार्यक्रमदेखि मृत्यु संस्कारमा पनि ढकियाको प्रयोग गरिने भएकाले यसको व्यवसायबाट महिला स्वरोजगार बन्दै गएका सङ्गीताले बताइन् । पहिले थारु समुदायका सबै महिलाले बुन्ने गरे पनि पछिल्लो समय यो चलन हराउँदै गएको भन्दै उनले थारु परम्परा र संस्कृतिसँग जोडिएकाले पनि यसलाई संरक्षण र प्रवद्र्धन गर्न तालिम दिँदै आइएको उनले उल्लेख गरिन् ।
सङ्गीताले अहिले १२ भन्दा बढी किसिमका ढकिया बुन्न थालेको जानकारी दिइन् । उनका अनुसार यहाँ बनेका ढकिया दमक, झापा काठमाडौं, धनकुटा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा जाने गरेको छ । उनले भनिन्, ‘यसबाट आम्दानीको यकिन हिसाब भने हुँदैन तर यो व्यवसायले घरखर्च टार्न र महिलाका निजी आवश्यकता पूरा गर्न पुग्छ ।’
ढकिया बुन्ने तालिमपछि यहाँबाट प्रशस्त आम्दानी गर्न सकिने रहेछ भनेर मलाई आत्मविश्वास बढेको छ रामधुनी–५ का निलम चौधरीले बताइन् । ‘पहिले मलाई ढकिया बुनेर पनि आम्दानी हुन्छ भन्ने लागेको थिएन । पछिल्लो समय यसको प्रयोग अत्यधिक बढ्न थाल्यो । विभिन्न कार्यक्रममा मायाको चिनोदेखि लिएर चाडपर्वमा यसको प्रयोग हुने भएपछि तालिम लिएर आम्दानीसँगै स्वरोजगार बनेकी हुँ ।’
आफूले बुनेका ढकिया झापा र सुनसरीका विभिन्न ठाउँबाट माग हुने गरेको निलमको भनाइ छ । उनका अनुसार पाँच सयदेखि चार हजार रुपैयाँसम्ममा ढकिया बिक्री हुने गर्दछ ।
सोही ठाउँकी कञ्चन चौधरीले एक वर्षदेखि ढकिया बुन्न सुरु गरेको सुनाइन् । ‘यसका बारेमा केही ज्ञान पेसा पुर्खाहरूबाट जानेकी थिएँ । यो हाम्रो संस्कृतिसँग पनि जोडिएकाले यसलाई जोगाउनु, संरक्षण गर्नु पछिल्लो पुस्ताको कर्तव्य भएकाले तालिम लिएर व्यावसायिक पेसा बनाएकी हुँ’, उनले भनिन्।
उनका अनुसार प्रत्येक वर्ष नगरपालिकाको सहयोगमा यहाँ महिला केन्द्रित भएर ढकिया बुन्ने तालिम सञ्चालन हुन्छ । यस्ता सीपमूलक तालिम अन्य क्षेत्रमा पनि आए महिला थप आकर्षित हुनुका साथै रोजगारीका नयाँ अवसर सिर्जना हुने उनको भनाइ छ ।
कञ्चनले महिनामा १० वटाभन्दा बढी ढकिया बुन्न सकिने बताउँदै कहिले सोभन्दा बढी माग पनि आउने गरेको उल्लेख गरिन् । ‘बढी माग हुँदा रातभर बुनेर पूरा गर्नुपर्छ । ढकिया बुन्न सके बिक्रीका लागि बजारको अभाव भने हुँदैन । ढकिया विभिन्न किसिम र आकारमा बुन्न सकिन्छ । दौरा, मना, धमालगायतको माग बढी आउने गर्दछ’, उनले भनिन् । उनका अनुसार ढकियामा धागो, मोती, कासको प्रयोग हुन्छ ।
‘धागो र मोती हामीले खरिद गर्नुपर्छ । कास भने कोशी किनारमा प्रशस्त पाउन सकिन्छ । त्यहीँबाट लिएर आउने गरेका छौँ’, कञ्चनले भनिन् । यस सीपलाई फुर्सदको समय सदुपयोग गरी काममा लगाउँदा जीविकोपार्जनमा सहयोग पुग्ने उनको अनुभव छ । अहिले रामधुनी–५ मा मात्रै ढकिया बुन्ने महिला एक दर्जन बढी छन् ।