काठमाडौं । विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैँकर्स एसोसिएसन नेपाल (डिबान) को अध्यक्षमा सुयोग श्रेष्ठ पुनः निर्वाचित भएका छन् । बिहीबार पोखरामा आयोजना गरिएको एसोसिएसनको १९ औँ वार्षिक साधारण सभाले श्रेष्ठको नेतृत्वमा नौं सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो । श्रेष्ठ साँग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।
समितिमा उपाध्यक्षमा कामना सेवा विकास बैक लिमिटेडका सीईओ दिनेश थकाली, सचिवमा गरिमा विकास बैकको सीईओ माधव प्रसाद उपाध्याय तथा कोषाध्यक्षमा ज्योति विकास बैकका सीईओ कपिल ढकाल निर्वाचित भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरूमा लुम्बिनी विकास बैकका नरेशसिंह बोहरा, साइन रेसुङा डेभलपमेन्ट बैकका प्रकाश पौडेल, महालक्ष्मी विकास बैकका दीपेश लम्साल, ग्रिन डेभलपमेन्ट बैकका हरिबहादुर बुढाथोकी र सप्तकोसी डेभलपमेन्ट बैकका दिनेश पोखरेल चयन भएका छन् ।
सभाले आव २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, चालु आवको अनुमानित आय व्यय र लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ । कार्यक्रममा अध्यक्ष श्रेष्ठले नयाँ कार्यकालमा विकास बैंकको हकहितका लागि कार्य गर्ने प्रतिबद्धता जनाए ।