काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालबीच ग्लोबल आईएमई बैंकका ग्राहकहरूलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
उक्त समझदारीमा बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटी र अस्पतालका अध्यक्ष गोपालबहादुर पोखरेलले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार अस्पतालले बैंकका डेबिट/क्रेडिट कार्ड एवं बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरूलाई अस्पतालको सेवा तथा औषधि उपचारमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्म छुट प्रदान गर्नेेछ ।
अस्पतालले बैंकका ग्राहकहरूलाई अस्पतालको सामान्य बेड, प्रयोगशाला परीक्षण, एक्स–रे, अल्ट्रासोनोग्राफी, ओ.पी.डी. र अपरेसनलगायतका सेवाहरूमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ । यस साझेदारीपश्चात् ग्लोबल आईएमई बैंकका ग्राहकहरूले गुणस्तरीय स्वास्थ्य सेवा सुविधाहरू उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरू विस्तार गर्न यस सहकार्यले सहयोग पुग्ने अध्यक्ष पोखरेलले बताए । पोखरेलले यो पहलले पहँुचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रतिबद्धतालाई प्रतिविम्बित गर्ने कुरा समेत स्पष्ट पारे ।
यसैगरी, ग्लोबल आईएमई बैंकका लुम्बिनी प्रदेश प्र्रमुख शान्ता शिवाकोटीले लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालसँगको साझेदारीले बैंकका ग्राहकहरूलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाको प्रयोगकर्ता वृद्वि हुने विश्वास व्यक्त गरे । ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका विभिन्न समयसान्दर्भिक छुट योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचकअनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । ग्लोबल आईएमई बैंकलाई सबैका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना ५० लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।