काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा ऐनले निर्दिष्ट गरेका जिम्मेवारी पूरा गर्नका लागि कर्मचारी युनियनहरू, बीमकका संस्थाहरूलगायत सरोकारवाला सबैको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।
अध्यक्ष ओझाले नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको विशेष अधिवेशनको शुक्रबार ललितपुरमा उद्घाटन गर्दै बीमा क्षेत्रलाई व्यवस्थितरूपमा अगाडि बढाउनका लागि सम्बद्ध सबैसँग सहकार्य गर्न प्राधिकरण पूर्णरूपमा तयार रहेको बताए ।
बीमा क्षेत्रका समस्याहरू सरोकारवालाहरू सबैसँग मिलेर समाधान गर्न सकिने उल्लेख गर्दै अध्यक्ष ओझाले बीमा क्षेत्रलाई व्यवस्थित, विश्वसनीय र पारदर्शी बनाउनु नै मुख्य प्राथमिकता भएको बताए । अध्यक्ष ओझाले सरकारले दिएको जिम्मेवारी कामबाट नै पूरा गर्न र बीमा क्षेत्रमा असल अभ्यास प्रवर्द्धन गर्न सम्बद्ध सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले कर्मचारीहरूका हक, हितलगायतका विषयमा कर्मचारी युनियनहरूसँग सहकार्य गर्न व्यवस्थापन तयार रहेको बताए । कार्यक्रमको सभापतित्व नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष शम्भुप्रसाद मिश्रले गरेका थिए ।