काठमाडौं । उद्योगीहरुले नेपाल विद्युत् प्राधिकरणले उद्योगमा अघोषित लोडसेडिङ गरेको आरोप लगाएका छन् । उनीहरुले अघोषित लोडसेडिङका कारण आफूहरु धराशायी बन्ने अवस्थामा पुगेको बताएका छन् ।
नेपाल सिमेन्ट उत्पादक संघ, स्टील उत्पादक संघ र नेपाल धागो उत्पादक संघले आइतबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरी प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अघोषित लोडसेडिङ गरेको बताएका हुन् । घिसिङले लोडसेडिङ गर्नुपरेको अवस्थामा पहिले डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिर्ने उद्योगको लाइन काट्दै जाने बताएका थिए ।
प्राधिकरणले २०७५ वैशाखमा उद्योग क्षेत्रमा पनि लोडसेडिङ अन्त्य भएको घोषणा गरेको थियो । तर २०७६ देखि २०८१ फागुनसम्म हरेक महिना दुई घन्टादेखि १० घन्टासम्म लोडसेडिङ खेप्नुपरेको उनीहरुको दाबी छ । उनीहरुले अहिले उद्योगमा १२ घन्टा विद्युत् आपूर्ति बन्द गरिएको बताएका छन् ।
उद्योगीहरुले आफूहरुले प्राधिकरणसँग लोडसेडिङको तालिका माग्दासमेत नदिएको गुनासो गरे । चौबिसै घन्टा विद्युत् आवश्यक पर्ने सिमेन्ट, स्टिल र धागो उद्योगमा प्रत्येक वर्ष पुसदेखि जेठसम्म अघोषित लोडसेडिङ हुनेगरेको उनीहरुले बताए । कुनै पनि उद्योग आधा समय चलाउने र आधा समय बन्द गर्न नमिल्ने र त्यसो गरेमा उद्योगहरु धाराशायी भई मेसिन कवाडीमा बेच्नुको विकल्प नहुने उनीहरुले बताए ।
स्टिल उत्पादक संघका अध्यक्ष शोभाकर न्यौपानेले उद्योगमा १० घण्टा पनि मुस्किलले विद्युत् आएको र त्यो पनि गुणस्तर नभएको बताए । बिजुली नपाउँदा एक केजीमा १० रपैयाँसम्म भार बढेको उनले बताए । सिमेन्ट उद्योगी ध्रुव थापाले विद्युत् अभावमा सिमेन्ट उद्योगहरु ५० प्रतिशतभन्दा कम क्षमतामा चल्न बाध्य बनेको बताए । उनले एक मिनेट मात्रै बत्ती जाँदा ४५ मिनेटको उत्पादन नोक्सान हुने बताए ।
उद्योगीहरु डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादमा लाल आयोगको प्रतिवेदन कार्यान्वयन नगरेको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङप्रति आक्रोशित देखिए । उनीहरुले प्राधिकरणले प्रमाण दिएमा आफूहरु बक्यौता तिर्न तयार रहेको बताएका छन् । लोडसेडिङ गर्ने विषयमा पनि बक्यौता तिरेको र नतिरेको उद्योग भनेर छुट्याउन नमिल्ने बताएका छन् ।