काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले पर्यटन सेवा क्षेत्रमा साढे दुई खर्ब रुपैयाँभन्दा बढी ऋण प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले पर्यटकीय सेवासँग सम्बन्धित व्यवसायमा दुई खर्ब ५० अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा २५ अर्ब तीन करोड रुपैयाँ बढी हो । गत वर्ष माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले पर्यटन क्षेत्रमा दुई खर्ब २५ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गरेका थिए ।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले गत माघसम्म पर्यटकीय क्षेत्रमा दुई खर्ब १६ अर्ब ७४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा २३ अर्ब ३८ करोड रुपैयाँ बढी हो । गत वर्ष माघ मसान्तमा वाणिज्य बैंकहरूले पर्यटन क्षेत्रमा एक खर्ब ९३ अर्ब ३६ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले पनि २०८१ माघ मसान्तसम्म पर्यटकीय क्षेत्रमा २८ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा दुई अर्ब तीन करोड रुपैयाँ बढी हो । गत वर्ष विकास बैंकहरूले पर्यटकीय क्षेत्रमा २६ अर्ब ७३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
सञ्चालनमा रहेका १७ वटा वटा फाइनान्स कम्पनीहरूले गत माघ मसान्तसम्म पर्यटकीय क्षेत्रमा चार अर्ब ६३ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा ३८ करोड ६० लाख रुपैयाँ कम हो । गत वर्ष माघसम्म फाइनान्स कम्पनीहरूले पर्यटन व्यवसायमा पाँच अर्ब दुई करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
पछिल्लो समय पर्यटक आगमन पनि बढ्दो क्रममा रहेको र तारे होटल तथा रिसोर्टहरू खुल्ने क्रम बढेकाले पनि यस क्षेत्रमा बैंकहरूको लगानी बढेको देखिन्छ । पर्यटकको चहलपहल बढ्दा यस क्षेत्रको व्यापार पनि बढ्ने भएकाले लगानीकर्ताले नयाँ होटल तथा रिसोर्टहरू सञ्चालन गर्न आकर्षित हुन्छन् । जसले गर्दा बैंकहरूको कर्जा लगानी बढेको छ ।