काठमाडौं । नेपाली बजारमा पाइने लक्जरी एसयुभी स्काईवेलले आफ्नो फ्ल्यागसिप सोरुम काठमाडौंको नक्सालमा सञ्चालनमा ल्याएको छ । स्काईवेलको यो नेपालमा पाँचौँ बिक्री कक्ष हो ।
चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन वाड् जीनले एक समारोहका बीच सो बिक्री कक्षको शुभारम्भ गरेका थिए । सो कार्यक्रममा स्काईवेलका डेपुटी जनरल म्यानेजर थोमस झु र कन्ट्री म्यानेजर भिरा एवं जि मोटर्स प्रालिका चेयरमेन दुर्गा प्रसाद गेलालको उपस्थिति थियो । स्काईवेलले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, मिडल इस्ट, रसियासहित एसियामा आफ्नो बलियो बजार साख सृजना गरिसकेको छ । स्काईवेल चीनियाँ इलेक्ट्रोनिक्स जाइन्ट स्काईवर्थको ब्रान्ड हो ।
भक्तपुरको राधेराधेमा पहिलो बिक्री कक्ष खोलेर नेपाली बजारमा स्काईवेलले एक बर्ष अगाडि आफ्नो प्रिमियम एसयुभीको बिक्रीवितरण सुरु गरेको हो । कम्पनीले नेपालमा सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयूभी स्काईवेल इटी फाइभ भित्र्याएको थियो । नेपाली बजारमा भित्रिएको एक वर्षभित्रमै राम्रो ब्रण्ड भ्यालु कायम गर्न सकेको स्काईवेलले एक सयभन्दा बढी एसयूभीहरु नेपालमा बिक्री गरिसकेको छ । योसको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता जि. मोटर्स प्रालि रहेको छ । कम्पनीका एसयूभीहरु एक करोड १५ लाख रुपैयाँ मूल्यसम्म पर्ने रहेका छन् । यसको सुरुवाती भेरियन्टको चार सय १० किलोमिटर रेन्ज भएको एसयूभी नै ७९ लाख ९० हजार रुपैयाँ मूल्य पर्छ । साथै कम्पनीले अहिलेसम्मकै प्रिमियम फिचर भएको सानो एसयूभी पनि तत्कालै लिएर आउने जानकारी दिएको छ ।