काठमाडौं । औषधि व्यवस्था विभागले नेपालमा दुई भारतीय कम्पनीका औषधि बिक्रीवितरणमा रोक लगाएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा न्यून गुणस्तर पाइएपछि भारतको साइकोट्रपिक इन्डिया लिमिटेडको पिल्प्यान ४०, पेन्टोप्राजोल ट्याब्लेटको एमजीको ब्याच नम्बर सीआई६४३००८ को बिक्रीवितरणमा रोक लगाएको हो । शारदा मेड्केयर ट्रेडर्स प्रालि यस औषधिको आयातकर्ता काठमाडौं रहेको विभागले जनाएको छ ।
यस्तै, ब्याच नम्बर एमपीजे२३३४८७ को एसिटप ४० एमजी, पेन्टाप्राजोल भारतकै एरिस्टो फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको औषधि पनि बिक्रीमा रोक लगाइएको छ । युनिक ट्रेड लिंक प्रालि वीरगन्ज यस औषधिको नेपाली आयातकर्ता हो । यस ब्याचको औषधि बिक्रीवितरण, सिफारिस र प्रयोगसमेत नगर्न विभागले आग्रह गरेको छ । साथै, विभागले खराबी देखिएको ब्याचको औषधि बजारबाट फिर्ता ल्याएर त्यसको विवरण बुझाउन समेत निर्देशन दिएको छ ।