दाङ । गएराति २ बजेदेखि दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । हाल सात वटा दमकलले आगो निभाइरहेका छन् ।
दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले अझैसम्म पनि उद्योगमा लागेको आगलागी पूर्ण नियन्त्रणमा आउन नसकेको बताए । प्लाई बनाउन प्रयोग हुने सामग्री धेरै भएका कारण बलिरहेको आगो निभाउन अझै समय लाग्ने प्रजिअ लम्सालकोे भनाइ छ ।
उनका अनुसार दाङको घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका तथा बर्दियाको बाँसगढी नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र रुपन्देहीबाट दमकल ल्याएर आगो निभाउने क्रम जारी छ ।
प्रजिअ लम्सालले आसपासमा बस्ती भए पनि त्यो बस्तीका लागि जोखिम भने टरेको बताए । आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ । यद्यपी अझै पनि क्षतिको विवरण आइपुगेको छैन । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित सुरक्षा निकाय, स्थानीयलगायतले आगो नियन्त्रण गरिरहेका छन् ।