दोलखा । दोलखामा सञ्चालनमा रहेका अस्पतालहरुमा आईसीयू वार्ड नहुँदा बिरामीहरुलाई उपचारमा समस्या पर्नेगरेको छ । आईसीयू वार्ड राखेर उपचार गर्नुपर्ने बिरामीहरुलाई यहाँका अस्पतालहरुले राजधानी रिफर गर्ने गरेका छन् ।
गत शनिबार मोटरसाइकल दुर्घटनामा परी दुई जना गम्भीर घाइते हुनपुगे । घाइतेमध्ये विनोद तामाङलाई तत्काल आईसीयू राख्नुपर्ने भन्दै दोलखास्थित धुलिखेल अस्पतालका स्वास्थ्यकर्मीहरुले प्राथमिक उपचार गरेर काठमाडौं रिफर गरिदिए । दोलखामा रहेका कुनै पनि अस्पतालमा आईसीयूको सुविधा नरहेको हुँदा तामाङलाई हेलिकोप्टरमार्फत काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका लागि पठाइयो । उनको हाल अन्नपूर्ण न्युरो अस्पताल उपचार भइरहेको छ । जिल्लामा च्याउसरि अस्पताल तथा मेडिकलहरु खुलेका छन् । तर ती अस्पतालहरुमा गम्भीर रोगको उपचार तथा शल्यक्रिया भने हुँदैनन् ।
जिल्लामा वर्षौँदेखि आईसीयू र भेन्टिलेटर अभाव छ । निमोनियासहित अक्सिजनको मात्रा कम हुँदै गएका बिरामीहरुका लागि आईसीयू बेड आवश्यक भए पनि उपलब्ध हुन सकेको छैन । सदरमुकाम चरीकोटमा रहेको पशुपति चौलागाईं स्मृति प्रादेशिक अस्पतालमा पनि आईसीयूको सुविधा छैन । कोरोना संक्रमणकालमा केही अस्पतालले आईसीयू वार्ड सञ्चालन गरेका थिए । तर हाल ती अस्पतालमा आईसीयूको सुविधा सञ्चालनमा नरहेको अस्पतालहरुले जनाएका छन् ।
सुविधासम्पन्न अस्पताल नहुँदा जिल्लावासीहरुलाई धुलिखेल र काठमाडौंका अस्पतालमा महँगो यातायात खर्चसहित उपचार गर्नुपर्ने बाध्यता रहँदै आएको छ । निमोनिया, दम, उच्चरक्तस्राव, सीएसलगायतको उपचारमा समेत कतिपय बिरामी काभ्रेको धुलिखेल पुग्ने गरेका छन् । धुलिखेल अस्पतालको शाखा अस्पताल दोलखामा शिशुको लागि आईसीयू वार्ड भए पनि अन्यको लागि भने यहाँ पनि आईसीयू छैन ।
अस्पतालमा भर्ना भएका विभिन्न रोग संक्रमित बिरामीहरुलाई अस्पतालले बिरामीका आफन्तलाई नै आईसीयू खोजेर बिरामी लैजान भन्ने गरेका छन् । संक्रमण भई अक्सिजनको मात्रा घट्दै गएपछि कतिपय बिरामीको जिल्लाका अस्पतालमै ज्यान समेत जानेगरेको छ ।
जिल्लामै आईसीयूयुक्त अस्पताल हुने हो भने यहाँका नागरिकले सहजरूपमा उपचार पाउने धुलिखेल अस्पतालमा दमको उपचार गरिरहेका कालिञ्चोक गाउँपालिका स्थानीय विध्र्वज थामीले सुनाए । ‘सामान्य रोगबाहेक अन्य जटिल रोगको अप्रेसन उपचार गर्न काठमाडौंमा नै पुग्नुपर्छ’, उनले भने, ‘हुनेखाने, पैसा भएकाहरुले त हेलिकोप्टर बोलाएर तत्काल काठमाडौं पुग्छ तर सामान्य परिवारको मान्छले कसरी हेलिकोप्टर बोलाउनु ? उपचार खर्चभन्दा महँगो हेलिकोप्टरको भाडा हुन्छ,’ भावुक हुँदै उनले भने ।