काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकका अनुसार ’ग्लोबल मनी विक–२०२५’को अवसर पारेर देशव्यापी वित्तीय साक्षरता प्रदान गरिएको हो । ’ग्लोबल मनी विक २०२५’ लाई सफल बनाउने उद्देश्यले बैंकले चैत ४ गतेदेखि १० गतेसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरूमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।
जसअन्तर्गत कोशी प्रदेशमा १२, मधेश प्रदेशमा १२, बागमती प्रदेशका १६, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशमा १४, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा १० गरी बैंकका जम्मा ८३ वटा शाखा कार्यालयहरूले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका थिए । ’ग्लोबल मनी विक–२०२५’ कै सन्दर्भमा बैंकले लुम्बिनी प्रादेशिक कार्यालय, हेटौंडा, धनगढी, हरिवन, लालबन्दी र स्याफ्रुबेसीमा वित्तीय साक्षरतासम्बन्धी र्याली समेत गरेको थियो ।
वित्तीय साक्षरता कार्यक्रममा बैंकले बैंकिङ प्रणली, बचत तथा कर्जाको योजना, बचतको आवश्यकता, खाताका प्रकार, मोबाइल बैंकिङ, डिजिटल बैंकिङ, क्युआर, पिन तथा पासवर्ड सुरक्षा, साइबर सुरक्षा, डिजिटल ठगीबाट जोगिने उपायहरू आदि विषयमा विद्यार्थीहरूलाई ज्ञान प्रदान गरेको थियो । बैंकले हालै प्रकाशित गरेको वित्तीय साक्षारतामा आधारित चित्र पुस्तक ’डिजिटल बैंकिङको जादु’ र साइबर सुरक्षाअन्तर्गत पर्चा सातै प्रदेशबाट विभिन्न विद्यालयका विद्यार्थीहरूलाई वितरण गरेको थियो ।