घोराही । आगलागी भएको करिब ३२ घण्टा बितिसक्दा पनि दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको गणपति भेनियर तथा साङ्ग्रीला प्लाई उद्योगमा लागेको आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो करिब ९० प्रतिशत नियन्त्रणमा रहे पनि पूर्णरुपमा अझै नियन्त्रणमा आउन नसकेको जानकारी दिएका छन् । उनले आगलागीबाट उद्योगका सबै सामग्री जलेरनष्ट भएको बताए ।
आगो पूर्णरुपमा नियन्त्रणमा आउन उद्योगमा चिरान गरिएको काठसँगै प्रज्वलनशील वस्तु राखिएका कारण जति प्रयास गर्दा पनि आगो नियन्त्रणमा आउन ढिलाई भएको उनको भनाइ छ । सोमबार बिहान २ बजेदेखि आगो नियन्त्रणका लागि निरन्तर प्रयास जारी रहेपनि पूर्णरुपमा अझै आगो नियन्त्रण नआएको उनले बताए ।
करिब दुई सय जना नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीसँगै वनको डढेलो नियन्त्रण टोलीले आगलागी नियन्त्रणका लागि प्रयास गरिरहेका छन् । उद्योगमा लागेको आगो नियन्त्रणका लागि पानी बोक्न दाङसँगै कपिलवस्तु, बाँके र बर्दिया जिल्लाबाट आएका आठवटा दमकलसँगै ट्याक्टर प्रयोग गरिइरहेको छ ।