काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक, २०२५’को अवसरमा सातै प्रदेश केन्द्रित कार्यक्रम सञ्चालन गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिल बैंकले विद्यार्थी र युवाकेन्द्रित कार्यक्रम सञ्चालन गरी यस वर्ष पनि ‘ग्लोबल मनी विक, २०२५’ मनाएको जनाएको छ ।
यही मार्च १७ देखि २३ तारिखसम्म विश्वभर ‘थिंक बिफोर यु फोलो, वाइज मनी टुमारो’ भन्ने मूल नाराका साथ ग्लोबल मनी विक सञ्चालन गरिएको थियो । यस अभियानअन्तर्गत नबिल बैंकले प्रदेशमा चार हजारभन्दा बढी विद्यार्थी र युवामाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेको हो ।
बैंकले विद्यार्थी तथा युवाहरूलाई सानै उमेरदेखि आर्थिकरूपमा सचेत गराउन तथा फाइनान्सियल इन्फ्लुएन्सर्सको लहलहैमा लागेर लगानी गर्न नहुनबारे जानकारी दिन वित्तीय साक्षरता अभियान सञ्चालन गरेको थियो । सातै प्रदेशमा सञ्चालन गरिएको कार्यक्रममा बचत, बजेट, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षालगायतका विषयमा जानकारी गराइएको बैंकले जनाएको छ ।
बैंकले कोशी प्रदेशका सात सय ४४, मधेश प्रदेशका एक हजार ६३, बागमती प्रदेशका चार सय ४१, गण्डकी प्रदेशका चार सय ३४, लुम्बिनी प्रदेशका पाँच सय छ, कर्णाली प्रदेशका चार सय पाँच र सुदूरपश्चिम प्रदेशका चार सय सात विद्यार्थी तथा युवाहरु वित्तीय साक्षरता कक्षामा सहभागी भई लाभान्वित भएको बैंकले जानकारी दिएको छ ।
नबिल बैंक लिमिटेडले वित्तीय साक्षरता विस्तार तथा डिजिटल बैंकिङलाई अभिप्रेरित गर्ने उद्देश्यले वर्षभर नै विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यस्तै सामाजिक उद्यमशीलता विकासका लागि बैंकले ‘नबिल एसएसई’लगायतका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ । युवा तथा विद्यार्थीलाई लक्षित गरी सहुलियत ब्याजदरमा शैक्षिक कर्जा, युवा उद्यमशील कर्जा प्रवाह पनि गरिरहेको छ ।