काठमाडौं । एनसेलले शनिबारबाट सुरु हुने बहुप्रतिक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल)को अवसरमा काठमाडौंको लैनचौर खेलमैदानमा एक मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको छ ।
तीन टिमको सहभागिता रहेको यो मैत्रीपूर्ण खेलमा नेपाल खेलकुद पत्रकार संघको टिम विजयी भएको छ । सेभेन ए साइड फुटबल मैदानमा खेलिएको यस खेलमा पहिलो खेल एनसेल टिम र पूर्वराष्ट्रिय खेलाडी तथा भेटरान फुटबलर अनिल गुरुङको नेतृत्व रहेको कलाकार तथा मोडलहरुको टिमबीच भएको थियो । यसमा एनसेल टिमले अनिल गुरुङको टिमलाई २–१ का साथ १ गोलको अन्तरले हराएको थियो । यो प्रतियोगिताको फाइनल खेल नेपाल खेदकुद पत्रकार संघको टिम र एनसेल टिमबीच भएको थियो । यस फाइनल खेलमा नेपाल खेदकुद पत्रकार संघको टिमले २–० ले जित हासिल गरेको थियो ।
शनिबारबाट सुरु भई वैशाख १३, २०८२ मा समापन हुने यस फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएल सिजन ३ मा एनसेल प्रमुख प्रायोजकका रुपमा आबद्ध रहेको छ । यस सिजनमा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र चितवन गरी नेपालका सात टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । एनसेल एनएसएल सिजन ३ दशरथ रंगशालामा एक महिनासम्म सञ्चालन हुनेछ ।