काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम)ले नेपाल अमेरिकाबीच आर्थिक गतिशीलता र आपसी समृद्धिमा जोड दिएको छ । अमेरिका भ्रमणका क्रममा रहेको एमच्यामको प्रतिनिधिमण्डलले वासिङ्टन डिसीमा दुई मुलुकबीचको आर्थिक सहकार्यलाई अघि बढाउन महत्वपूर्ण छलफल गरेको हो ।
नेपाली प्रतिनिधिमण्डलले अमेरिकी सरकारी निकाय, व्यवसायी र नीति निर्माण तहका उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाट गरेको थियो । भेटका क्रममा अमेरिकी विदेश मन्त्रालयका एक्टिङ डेपुटी असिस्टेन्ट सेक्रेटरी अला कमिन्सले नेपाल अमेरिकाबीच आर्थिक गतिशीलता र आपसी समृद्धिमा जोड दिएका थिए । उक्त कार्यक्रममा अमेरिकी वाणिज्य विभागको अन्तर्राष्ट्रिय व्यापार प्रशासनका कार्यवाहक निर्देशक क्रिस एसले नेपाल अमेरिकाबीचको व्यापार अवरोध हटाउने एवं व्यापारिक अवसरलाई सदुपयोग गर्ने प्रतिबद्धता जनाए । निर्देशक एसले एमच्याम नेपाललाई व्यापारिक सम्बन्ध विस्तारमा नेतृत्वदायी भूमिका खेल्न प्रोत्साहित समेत गरेका छन् ।
यस्तै अमेरिकी वाणिज्य विभागका कार्यवाहक निर्देशक नाओमी विग्लरले एमच्याम नेपाललाई सम्भावित व्यापार साझेदारसँग जोड्ने, लगानी अवसरको प्रवर्द्धन गर्ने र नेपालमा अमेरिकी व्यवसायहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सो भेटमा आर्थिक सल्लाहकार सारा एन्डरसन र विदेश मन्त्रालयका नेपाल डेस्क अफिसर सिन कोम्बर पनि सहभागी थिए ।
नेपाली दूतावासका आर्थिक कन्सुलर युवराज पाण्डेले दुई देशबीचमा आइटी क्षेत्र विशेष गरी एआई प्रवद्र्धनमा सीप अभिवृद्धि र प्रमाणीकरणका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको बताए । उनले अमेरिकी सरकारलाई यस क्षेत्रमा आगामी दिनको साझेदारीका लागि तत्पर रहेको बताएका थिए । एमच्याम नेपालका संस्थापक अध्यक्ष अजित विक्रम शाहले नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको उच्च सम्भावना रहेको भन्दै लगानीका लागि आग्रह गरे । शाहले उद्योग–केन्द्रित व्यापार विकासमा थप सहयोगका लागि आग्रह गरेका थिए ।
अमेरिकी जलविद्युत् विकासकर्ता सम्राथ मोघाले नेपालमा अमेरिकी लगानी आकर्षित गर्न कर सुधारको आवश्यकतामा जोड दिए । उनले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)लाई सहज बनाउन र अमेरिकी व्यवसायहरूको प्रतिफल सुनिश्चितताका लागि नीतिगत पहल गर्न आग्रह गरे । एमच्याम नेपालका महाप्रबन्धक अमिरराज थापाले नेपालमा अमेरिकी व्यवसाय, रोजगारी सिर्जना, र प्रविधि हस्तान्तरणलाई प्रवर्द्धन गर्न एमच्याम नेपालले सञ्चालन गरेका प्रयासहरूबारे जानकारी गराएका थिए । उनले अमेरिकी चेम्बर अफ कमर्सको छत्रछायामा द्विपक्षीय व्यापारिक साझेदारीलाई सुदृढ बनाउन एमच्यामको प्रतिबद्धता दोहोर्याए ।
एमच्यामको प्रतिनिधिमण्डलले राष्ट्रिय सुरक्षा परिषद्का ग्रेग डी. पाइप र राजन नाथानिएलसँगको भेटमा व्यापार सहजीकरण र नीतिगत स्थिरताका लागि प्रतिबद्धता जनाएका छन् । यस्तै प्रतिनिधिमण्डलले यूएसटीडिएका निर्देशक भेरिन्डा फाइक र प्रबन्धक अन्ना पिट्जरसँगको छलफलमा नेपाल र अमेरिकी व्यवसायहरूबीच आर्थिक सहकार्य गर्नुपर्ने बताएका थिए । अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डलसँग एमच्याम नेपालले आईसीटी, ऊर्जा, पर्यटन, आतिथ्य, निर्माण, फिनटेक, कृषि व्यवसाय, र सेवा क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको उल्लेख गरेको छ ।
अमेरिका नेपालका लागि चौथो ठूलो व्यापार साझेदार राष्ट्र समेत हो । अमेरिकासँग गत वर्ष २०२३–२४ मा नेपालले ४१४५ मिलियनको आयात र ४१२८ मिलियनको निर्यात गरेको थियो । दुई मुलुकबीचको व्यापारिक सम्बन्ध सुदृढ बनाउँदा व्यापार वृद्धिसँगै नेपाललाई विकासशील राष्ट्रको दिशामा अघि बढाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस्तै नेपाली प्रतिनिधिमण्डलले एमसीसी कम्प्याक्ट व्यापार वृद्धि र नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउनका लागि एक महत्वपूर्ण पहल भएको उल्लेख गरेको छ । एमसीसी परियोजनामा अमेरिकाबाट ५० अर्ब र नेपालबाट १३ अर्ब रुपैयाँको लगानीमा बन्ने एमसीसी परियोजना सफल हुने विश्वास गरिएको छ ।