वासिङ्टन । दक्षिण कोरियाली अटो जायन्ट हुन्डाइले संयुक्त राज्य अमेरिकामा अर्बौँ डलरको लगानी घोषणा गर्न लागेको ह्वाइट हाउसले जनाएको छ । यसमा लुइसियानाको स्टिल प्लान्टका लागि अर्बौँ डलर समावेश हुनेछ ।
‘हुन्डाइले आजपछि अमेरिकामा २० अर्ब डलरको लगानी घोषणा गर्नेछ, जसमा लुइसियानामा स्टिल प्लान्टका लागि पाँच अर्ब ८० करोड डलर समावेश छ’, ह्वाइट हाउसले आफ्नो सोशल मिडिया पोस्टमा थप विवरण नदिई भनेको छ ।
सोमबार घोषणा हुने भनिएको कोषको कति हिस्सा नयाँ हो भन्नेबारे तत्काल स्पष्ट भएको छैन । हुन्डाइको अपेक्षित घोषणाले यसलाई जनवरीमा डोनाल्ड ट्रम्प सत्तामा फर्किएपछि संयुक्त राज्य अमेरिकामा अर्बौँ डलर लगानी गर्ने योजना घोषणा गर्ने पछिल्लो कम्पनी बनाउनेछ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले विदेशबाट संयुक्त राज्य अमेरिकामा उत्पादन रोजगारी स्थानान्तरण नगर्ने कम्पनीहरूमाथि पीडादायक भन्सार शुल्क लगाउने धम्की पटक–पटक दिएका छन् । यसको प्रतिक्रियामा एप्पल र ओरेकललगायत घरेलु र विदेशी कम्पनीहरूले आगामी चार वर्षमा अमेरिकी परियोजनाहरूमा सयौँ अर्ब डलर लगानी गर्ने योजना घोषणा गरेका छन् ।
नयाँ स्टिल प्लान्ट निर्माणमा हुने यो लगानीले करिब एक हजार पाँच सयलाई रोजगारी दिनेछ । हुन्डाइले ‘नेक्स्ट–जेनेरेसन स्टिल’ उत्पादन गर्नेछ जसलाई यसले आफ्नो अमेरिकी कारखानाहरूमा विद्युतीय वाहनहरू निर्माण गर्न प्रयोग गर्नेछ ।