लन्डन, साउन १३
बेलायमा गरिएको एक अध्ययनले कम्पनीहरु सञ्चालनमा पुरुषभन्दा महिलाहरु अब्बल हुने देखाएको छ । पुरुषले चलाएको भन्दा महिला कार्यकारीले चलाएका फर्म र कम्पनीहरुले राम्रो गरिरहेको उक्त अध्ययनले देखाएको छ । अध्ययनमा तीनमध्ये एक कार्यकारी महिला रहेको लन्डनमा सूचीकृत कम्पनी फाइदामा रहेको देखाएको हो ।
बीबीसीका अनुसार सूचीकृत फर्ममध्ये नाफामा गएका एकतिहाइ फर्ममा महिला कार्यकारी रहेको र महिला कार्यकारी नरहेका कम्पनीको तुलनामा १० गुणा राम्रो प्रस्तुति दिइरहेको पाइएको छ । सूचीकृत ३ सय ५० कम्पनीमध्ये १४ वटामा मात्रै महिला कार्यकारी छन् । जेन्डर डाइभर्सिटी बिजनेस द पाइपलाइनका अनुसार १५ प्रतिशत कम्पनीमा महिला कार्यकारी छैनन् । उक्त ग्रुपकी सहसंस्थापक लोर्ना फिट्जसाइमनका अनुसार निर्णायक तहमा महिला हुनुको अर्थ व्यवसाय राम्ररी चल्छ र आफ्ना ग्राहकलाई राम्रोसँग बुझ्न सक्छन् भन्ने हो ।
द पाइपलाइनको वुमन काउन्ट २०२० रिपोर्टले लैंगिक समानतायुक्त नेतृत्वतह र एउटै मात्र लैंगिक नेतृत्व तह भएका कम्पनीको खुद नाफामा समेत व्यापक भिन्नता देखिएको उनले बताइन् । रिपोर्टअनुसार लन्डन लिस्टेड कम्पनीमध्ये महिला कार्यकारी तहमा नभएकाको कुल नाफा १.५ प्रतिशत रहेको र तीनमध्ये एक महिला कार्यकारी तहमा रहेको कम्पनीको मुनाफा १५ प्रतिशतसम्म रहेको पाइएको छ ।