काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मंगलबार पदभार ग्रहण गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काबाट शपथ लिएलगत्तै प्राधिकरण पुगेर आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।
शाक्य नेपाल सरकार, मन्त्रिपरिषद्को चैत ११ को निर्णयअनुसार नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा १७ को उपदफा (१) बमोजिम चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् ।
शपथग्रहण कार्यक्रममा ऊर्जामन्त्री खड्काले उद्योगीसँग प्राधिकरणले लिनुपर्ने बक्यौता मन्त्रिपरिषद्को निर्णयलाई समेत मध्यनजर गरी तत्काल असुल गर्ने प्रक्रिया अगाडि बढाउन एवं ग्राहकलाई लोडसेडिङ नहुने अवस्था बनाउन निर्देशन दिए । मन्त्री खड्काले ऊर्जा क्षेत्र नेपालकै समृद्धिको प्रमुख आधार रहेको भन्दै इमान्दार भएर जनताको पक्षमा नतिजा देखिने गरी काम गर्न निर्देशन पनि दिए ।
मन्त्रालयका सचिव सुरेश आचार्यले अहिलेको चुनौतीपूर्ण अवस्थामा प्राधिकरणको साख जोगिने गरी काम गर्न निर्देशन दिए ।
नवनियुक्त कार्यकारी निर्देशक शाक्यले पदभार ग्रहणपछि अव लोडसेडिङ हुन्छ भन्ने हल्ला निराधार भएको बताए । उनले अब कुनै पनि क्षेत्रमा लोडसेडिङ नहुने बताए । आफूले मन, वचन र कर्मले आफ्नो योग्यता र क्षमताको अधिकतम प्रयोग गरी प्राधिकरणलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।