काठमाडौं । बीमा कम्पनीहरूले आर्जन गर्ने कुल बीमाशुल्क रकम बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म सञ्चालनमा रहेका १४ वटा निर्जीवन र १४ वटा जीवन गरी २८ वटा बीमा कम्पनीहरूले एक खर्ब ३८ अर्ब चार करोड ४४ लाख ४१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । जुन एक वर्षअघिको तुलनामा १० दशमलव ५६ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको फागुनसम्म बीमा कम्पनीहरूले एक खर्ब २४ अर्ब ८५ करोड ९० लाख ९५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।
प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको आठ महिनासम्म जीवन बीमा कम्पनीहरूको मात्र कुल बीमाशुल्क रकम एक खर्ब नौ अर्ब ४३ करोड ५९ लाख ७८ हजार रुपैयाँ छ । जुन एक वर्षअघिको तुलनामा ११ प्रतिशत बढी हो । गत वर्ष फागुनसम्म जीवन बीमा कम्पनीहरूले ९८ अर्ब ५९ करोड छ लाख ६१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए । निर्जीवन बीमा कम्पनीहरूले यस आर्थिक वर्षको साउनदेखि फागुनसम्म २८ अर्ब ६० करोड ८४ लाख ६३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आठ दशमलव ९१ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क आर्जन २६ अर्ब २६ करोड ८४ लाख ३४ हजार रुपैयाँ थियो ।
प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा कुल बीमालेखको संख्या उल्लेख्यरूपमा बढे पनि जीवन बीमा कम्पनीहरूमा भने कुल जारी बीमालेखको संख्या घटेको छ । सोअनुसार जीवन बीमा कम्पनीहरूमा चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा कुल जारी बीमालेखको संख्या ३८ लाख ३४ हजार पाँच सय ४४ छ । जुन एक वर्षअघिको तुलनामा १७ दशमलव छ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिमा जारी जीवन बीमालेखको संख्या ४६ लाख ५३ हजार सात सय २९ थियो । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म सक्रिय जीवन बीमालेखको संख्या एक करोड ४२ लाख ३८ हजार छ सय ४८ छ । जुन एक वर्षअघिको तुलनामा तीन दशमलव १२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कुल सक्रिय जीवन बीमालेखको संख्या एक करोड ३८ लाख सात हजार दुई सय ४९ थियो । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म निर्जीवन बीमालेखको संख्या २० लाख ७३ हजार चार सय ६३ छ । जुन एक वर्षअघिको तुलनामा आठ दशमलव ९२ प्रतिशत बढी हो । गत वर्ष फागुन मसान्तसम्म निर्जीवन बीमालेखको संख्या १९ लाख ५९ हजार तीन सय ८६ थियो ।
२०८१ फागुन मसान्तसम्म बीमाको दायरामा आएको जनसंख्या प्रतिशत म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित ४४ दशमलव १७ प्रतिशत छ । जुन एक वर्षअघिको तुलनामा एक दशमलव शून्य एक प्रतिशतले बढी हो । गत वर्ष फागुन मसान्तमा बीमाको दायरामा आएको कुल जनसंख्या ४३ दशमलव १६ प्रतिशत थियो ।