नयाँ दिल्ली, साउन १३
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या अत्यधिक वृद्धि भएको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ९ सय ३१ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । भारतमा अहिलेसम्म कोरोनाबाट संक्रमित भएकाको कुल संख्या १४ लाख ३५ हजार ४ सय ५३ पुगेको छ । तीमध्ये चार लाख ८५ हजार १ सय १४ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने नौ लाख १७ हजार ५ सय ६८ जना संक्रमणमुक्त भइसकेका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट संक्रमित भएर ७ सय ८ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ३२ हजार ७ सय ७१ पुगेको अधिकारीले जनाएका छन् । प्रदेशअनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र राज्यमा तीन लाख ७५ हजार ७ सय ९९ संक्रमित भएका छन् । त्यसैगरी तमिलनाडुमा दुई लाख १३ हजार ७ सय २३ जना र दिल्ली राज्यमा एक लाख ३० हजार ६ सय ६ जना संक्रमित भएका छन् । रासस/एएनआई