काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले देशमै उद्योग व्यवसाय गरेर आयआर्जन गर्न सकिने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ ।
नाडाको अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधि मण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटी उद्योगी व्यवसायीहरूका लागि अझै लगानीमैत्री वातावरण तयार नभएको गुनासो गरेको छ । नाडाका अध्यक्ष चौधरीले सरकारले उद्योग व्यवसायलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक हुन नसकेको बताए । उनले नेपालमा नेपाली उद्योगीहरूलाई लगानीको वातावरण निर्माण गर्न अझ धेरै नीतिगत सुधारको खाँचो रहेको औँल्याए । देशमा नेपालकै उत्पादनले बजार पाउने वातावरण हुनुपर्ने भन्दै उनले लुब्रिकेन्ट्स उद्योगका नाममा फिनिस्ड गुड नै नेपालमा ल्याएर बिक्री वितरण भइरहेको बताए । यसलाई तत्काल रोक्न उनले सरकारसँग माग गरे । सोही क्रममा अध्यक्ष चौधरीले नेपालमै टायर उद्योगहरू खोलिए पनि त्यसका लागि स्ट्यान्डर्डको व्यवस्था नभएको बताए । बुट मोडेलमा बाह्य लगानी नेपालमा ल्याउनुपर्नेमा उनले जोड दिए । यस्तै, उनले भारतीय मालवाहक साधनको नेपालमा निर्वाध प्रवेशले नेपालका मालवाहक साधनहरूको व्यवसायमा ठूलो असर परिरहेको उल्लेख गर्दै रोक्न आग्रह गरे ।
अध्यक्ष चौधरीले उद्योगमन्त्री भण्डारीलाई उद्योगी व्यवसायीको लागि आफ्नो देशमै उद्योग व्यवसाय गरेर आर्यआर्जन गर्न सकिने वातावरण निर्माणका लागि नाडाको छ बुँदे लिखित सुझावहरू समेत पेश गरेका थिए । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले एजेन्सी दर्तासम्बन्धी ऐन अहिलेसम्म पारित नहुँदा सवारीसाधन पैठारीकर्तालाई ठूलो समस्या भइरहेकोले बताए । सो ऐन छिटै पारित गर्नका लागि उनले आग्रह गरे । नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले हाल बन्द रहेको गोरखकाली रबर उद्योगलाई हालको ठाउँबाट कुनै उपयुक्त स्थानमा स्थानान्तरण गरी सञ्चालन गर्नुपर्ने र त्यस ठाउँलाई सेजको रूपमा प्रयोग गर्न सकिने बताए ।
व्यवसायीसँगको भेटमा उद्योगमन्त्री भण्डारीले नेपाल सरकारले खुला बजार अर्थनीति अवलम्बन गरिरहेको बताए । उनले खुला बजार अर्थतन्त्रमा सात सय प्रतिशतसम्म पनि मुनाफा गर्न सकिने बताए । साथै, उनले नाडाका सुझावहरू राजस्व परामर्श समितिमा पठाउन अनुरोध गरे । एजेन्सी दर्तासम्बन्धी नयाँ ऐन अहिलेसम्म पारित नभएको सन्दर्भमा उनले तत्कालै सम्बन्धित मन्त्रालयबाट जानकारी लिँदै सो ऐन छिट्टै पारित हुने आश्वासन दिए । मन्त्री भण्डारीले नेपालमा उद्योग व्यवसायको समुचित उत्थानका लागि उपयुक्त वातावरण सिर्जना गर्न आपूm दत्तचित्त भएर लागिरहेको बताएका थिए ।