काठमाडौं । नेपाल टेलिकमले कालीकोटको सदरमुकाम मान्मादेखि जुम्ला हुँदै मुगुको सदरमुकाम गमगढीसम्म अप्टिकल फाइबर विस्तार गरी सूचना महामार्ग सञ्चालन गरेको छ ।
टेलिकमले पहिलोपटक सो क्षेत्रमा अल–डाइइलेक्ट्रिक सेल्फ–सपोर्टिङ (एडीएसएस) प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरी उच्च गुणस्तरको सूचना महामार्ग सञ्चालनमा ल्याएको हो । देशको दुर्गम क्षेत्रमा समेत सर्वसुलभरूपमा दूरसञ्चार सेवा विस्तार एवं स्तरोन्नति गर्ने लक्ष्यअन्तर्गत विस्तार गरिएको सूचना महामार्गले कालीकोट, जुम्ला, मुगुलगायतका क्षेत्रमा मोबाइल ब्रोडब्यान्ड र फाइबर सेवाको गुणस्तर तथा क्षमता वृद्धि हुने जनाइएको छ । साथै, भविष्यमा सञ्चालनमा आउने नयाँ प्रविधिको लागि समेत महत्वपूर्ण आधार निर्माण भएको टेलिकमले जनाएको छ ।
माइक्रोवेभ रेडियो लिङ्कमार्फत हाल सञ्चालनमा रहेका राजमार्ग आसपासका कम्पनीका फाइबर इन्टरनेट (एफटीटीएच) तथा मोबाइल सेवासँग सम्बन्धित उपकरणहरूका साथै एटीटीभी ब्रान्डको टेलिभिजन सेवा समेत अप्टिकल फाइबरमार्फत सञ्चालनमा ल्याइएको छ । यसलाई नेपालको दूरसञ्चार क्षेत्रमा कोशेढुङ्गाको रूपमा लिएको टेलिकमले जनाएको छ । सेवा विस्तारसँगै उक्त क्षेत्रका सेवाग्राहीहरूले हाल सञ्चालनमा रहेका सेवाहरूको गुणस्तर तथा क्षमता अभिवृद्धि भएको प्रत्यक्ष अनुभव गर्नेछन् । यसका साथै दूरसञ्चार सेवाको लागि आवश्यक पर्ने ट्रान्समिसन रुटको वैकल्पिक मार्ग समेत स्थापना भई अटुट सेवा प्रवाहको प्रत्याभूति हुने टेलिकमले जनाएको छ ।