म्याग्दी । मङ्गला गाउँपालिका–२ मा २०६७ सालमा स्थानीयवासीले चन्दा सङ्कलन गरेर खोलेको बाबियाचौर–काफलचौर–सल्ल्यान–भर्जुला सडक स्तरोन्नति भएको छ । यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरका वडा नं १ र २ का बस्ती जोडिन्छ ।
बेनी–दरवाङ सडकमा पर्ने भाइवाङ खोलाबाट सुरु हुने सडकको प्रवेशबिन्दुबाट काफलचौर हुँदै सल्ल्यान खण्डको सडक दुई करोड १५ लाखको लागतमा स्तरोन्नति भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताए ।
सडकलाई वर्षाको पानीबाट जोगाउन निकासका निम्ति नाली, भूक्षय रोक्न टेवा र ग्यावियन पर्खाल निर्माण गरेर पाँच सय ३८ मिटर ढलान गरिएको छ । भाइवाङखोलाको प्रवेशबिन्दुबाट एक सय १० मिटर सडक छ मिटर फराकिलो बनाएर ढलान पनि गरिएको छ ।
यसअघि गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयमार्फत ३० लाख लागतमा भरजुला–थाइवाङ खण्ड स्तरोन्नति भएको थियो