काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापीरूपमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट १० हजार तीन सय ९२ जना लाभान्वित भएका छन् । ग्लोबल मनी विक २०२५ लाई सफल बनाउने उद्देश्यले बैंकले देशैभरिका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
अन्तर्राष्ट्रियरूपमा हरेक वर्ष मार्च महिनामा तेस्रो हप्ता मनाइने ग्लोबल मनी विक बैंकले चैत ४ देखि १० गतेसम्म साताव्यापी ’थिंक बिफोर यु फलो, वाइज मनी टुमारो’ भन्ने नारासहित सञ्चालन गरेको थियो । बैंकले विभिन्न स्कुल तथा कलेजका हजारौं विद्यार्थीहरूको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरूबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको थियो । अभियानअन्तर्गत बैंकिङसँग कारोबार गर्दा हुने फाइदाहरू, डिजिटल बैंकिङ, क्युआर, पोस सेवा, आरबीबी स्मार्ट बैंकिङ, इन्टरनेट बैंकिङ, पिन तथा पासवर्ड सुरक्षा, ओटीपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोगसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । बैंकका शाखा कार्यालयहरूमा विद्यार्थीहरूलाई भ्रमण गराई सैद्धान्तिक तथा प्रयोगात्मक विधिबाट वित्तीय सचेतना बारेमा ज्ञान प्रदान गरिएको थियो । यसका साथै सामाजिक सञ्जालबाट चेतनामूलक श्रव्यदृश्य सामग्रीहरू समेत प्रसारण गरिएको थियो ।
सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका एक सय ७६ भन्दा बढी मुलुकमा सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ मूलतः किशोर/किशोरी तथा युवा/युवती लक्षित वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापीरूपमा थालिएको अभियान हो । बैंकको हाल सात प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित दुई सय ९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, तीन सय १२ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ रहेको छ ।