ढाका, साउन १३
चीनको याबाङ इन्भेष्टमेन्ट होल्डिङ ग्रुप कम्पनीले बंगलादेशमा ३० करोड डलर लगानी गर्ने भएको छ । कम्पनीले चटगाउँमा रहेको बंगबन्धु शेख मुजिब शिल्पा नगरमा टेक्सटाइल र केमिकल उद्योगमा उक्त लगानी गर्ने इच्छा देखाएको द डेली स्टार अनलाइनले जनाएको छ । कोरोना महामारीकै दौडान बंगलादेश इकोनोमिक जोन्स अथोरिटी (बेजा)मा लगानीका लागि आएको अहिलेसम्मकै ठूलो प्रस्ताव भएको बताइएको छ ।
उक्त उद्योगका लागि कम्पनीले १०० एकड जमिन वार्षिक भाडामा लिने बताइएको छ । यसको पूर्वाधार विकाससम्बन्धी गुरुयोजना पनि कम्पनीले पठाइसकेको छ । त्यस्तै चिनियाँ पक्षले वातावरणीय व्यवस्थापनसम्बन्धी योजना पनि बंगलादेशलाई पठाइसकेको छ । यो परियोजना शतप्रतिशत विदेशी स्वामित्वको हुनेछ । बंगलादेशमा अझै द्रुतगतिमा लगानी भित्रिने अपेक्षा गरिएको छ । खासगरी लगानीमैत्री वातावरण भएकाले यस्तो अपेक्षा गरिएको हो ।
याबाङ ग्रुपका प्रमुख सिओचु सुले गत जुनमा चीनका लागि बंगलादेशी राजदूत महबुब उज जामानसँग भेटवार्ता गरेका थिए । सो क्रममा दुई देशबीच लगानी योजनाबारे कुराकानी भएको थियो । योजनाअनुसार काम भए प्रारम्भिक लगानी नै १ अर्ब अमेरिकी डलरको हुनसक्ने बताइएको छ । उक्त ग्रुपले औषधि, केमिकल लगायतका वस्तु उत्पादन गर्नेछ । उक्त ग्रुप चीनकै ठूला ५ सय कम्पनीमध्ये पर्ने र केमिकल क्षेत्रका तीन चर्चितमध्ये एउटा कम्पनी हो । यसले १५ सय जनालाई रोजगारी दिइरहेको छ ।