हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका १ स्थित चौकीटोलमा राहुल भन्ने रमेश दासले बुधवार आफ्नै भाउजूको हत्या गरेको जनाएको छ भने उनका दाजु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले रमेशले वर्ष ३५ की गुडिया दास जेठी भाउजू लाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जानकारी दिए ।
प्रहरी अनुसन्धान टोलीका अनुसार माइलो दाजु रुपेश दासलाई खुकुरी प्रहार गर्नुभन्दा पहिले नै अढाइ तल्ले घरको दोस्रो तल्लामा रहेको कोठामा मृतक जेठी भाउजुलाई टाउकोमा धारिलो हतियार प्रहार गरी देवर रमेश दासले हत्या गरेको बुझिन आएको छ ।
घरायसी विषयमा विवाद हुँदा रमेशले २८ वर्षीय दाजु रुपेश दासलाई खुकुरी प्रहार गरेको पाइएको छ । बुधवार दिउँसो रमेशले खुकुरी प्रहारगरी रुपेशको टाउको, दाहिने हात, करङको भागमा चोट लागि गम्भिर घाईते बनाएको जानकारी प्राप्त भएपछि प्रहरीले रमेशलाई खुकुरीसहित नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार घाइतेको सहकारी अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान हुँदैछ ।