काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो सात महिना (साउन–माघ)सम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन तीन दशमलव आठ प्रतिशत बढेको छ । जुन दुई खर्ब ४५ अर्ब ३४ करोड रुपैयाँ हुन आउँछ । गत आर्थिक वर्षको सोही अवधिमा निक्षेप सङ्कलन सात प्रतिशत अर्थात् तीन खर्ब ९७ अर्ब २० करोड रुपैयाँ बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ माघ मसान्तसम्म निक्षेप सङ्कलन नौ दशमलव सात प्रतिशत बढेको छ ।
२०८१ साउनदेखि माघसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः पाँच दशमलव दुई प्रतिशत, ३४ दशमलव आठ प्रतिशत र ५२ दशमलव चार प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः छ दशमलव दुई प्रतिशत, २७ दशमलव चार प्रतिशत र ५९ दशमलव आठ प्रतिशत थियो ।
कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५ दशमलव तीन प्रतिशत छ । २०८० माघ मसान्तमा यस्तो निक्षेपको अंश ३६ दशमलव चार प्रतिशत थियो । बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रकम भने चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा पाँच दशमलव छ प्रतिशत अर्थात् दुई खर्ब ८३ अर्ब ४६ करोड रुपैयाँ बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा चार दशमलव एक प्रतिशत अर्थात् एक खर्ब ९७ अर्ब २१ करोड रुपैयाँले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा सात दशमलव तीन प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ दशमलव आठ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ दशमलव दुई प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३ दशमलव दुई प्रतिशत र ३६ दशमलव आठ प्रतिशत थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह पाँच दशमलव नौ प्रतिशतले, विकास बैंकहरूको तीन दशमलव एक प्रतिशतले र फाइनान्स कम्पनीहरूको कर्जा प्रवाह पाँच दशमलव दुई प्रतिशतले बढेको छ । २०८१ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालू सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तुको सुरक्षणमा १४ दशमलव चार प्रतिशत छ भने घरजग्गा धितो सुरक्षणमा ६५ दशमलव एक प्रतिशत छ । २०८० माघ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः ११ दशमलव छ प्रतिशत र ६७ दशलव छ प्रतिशत थियो । आर्थिक वर्ष २०८१/८२ को सात महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा नौ दशमलव पाँच प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा नौ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा चार दशमलव चार प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा छ दशमलव सात प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा सात प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा पाँच दशमलव नौ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा तीन दशमलव छ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा २७ दशमलव आठ प्रतिशतले, ट्रस्ट रिसिट अर्थात् आयात कर्जा ६९ दशमलव पाँच प्रतिशतले, हायर पर्चेज कर्जा चार दशमलव पाँच प्रतिशतले, नगद प्रवाह कर्जा तीन दशमलव सात प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) तीन दशमलव दुई प्रतिशतले बढेको छ । यस अवधिमा अधिविकर्ष कर्जा भने १२ दशमलव चार प्रतिशतले घटेको देखिएको छ ।