दोलखा । नेपाली काँग्रेसका नेता स्व.भीमबहादुर तामाङको १३ औं स्मृतिमा सर्वाधिक पुरस्कार राशिको बागमती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । सो प्रतियोगिता बुधबारदेखि दोलखाको वैतेश्वर गाउँपालिका–३ मिर्गे खेल मैदानमा सुरु भएको हो ।
नेपाली काँग्रेस दोलखाको प्रदेश क्षेत्र ‘क’ ले आयोजना गरेको सो प्रतियोगिताको पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेतले उद्घाटन गरेका थिए । प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाहरूबाट नौ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता आगामी चैत १६ गतेसम्म चल्नेछ । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई पुरस्कार क्रमशः चार लाख, दुई लाख, एक लाख र ५० हजार रुपैयाँ राखिएको कांग्रेसका प्रदेशसभा सभापति शुक्रराज तामाङले जानकारी दिए ।