काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच बीमा सेवासम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रअनुसार सेती महाकाली ट्रक यातायात व्यवसायी संघमा रहेका ट्रकहरूको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्ने भएको हो । उक्त सम्झौतापत्रमा सलिको इन्स्योरेन्सको तर्फबाट नायब महाप्रबन्धक कविराज पौडेल तथा सेती महाकाली ट्रक यातायात व्यवसायी संघको तर्फबाट अध्यक्ष मोहन सिंह साउदले हस्ताक्षर गरेका छन् । सम्झौतापत्र आदानप्रदान कार्यक्रममा सलिको इन्स्योरेन्सको तर्फबाट प्रदेश प्रमुख धर्मराज बडु, शाखा प्रमुख हेमन्त लामिछानेलगायत सेती महाकाली ट्रक यातायात व्यवसायी संघको तर्फबाट पदाधिकारी तथा यातायात व्यवसायीहरूको उपस्थिति थियो ।
सेती महाकाली ट्रक यातायात व्यवसायी संघमा आबद्ध सवारीसाधनहरूकोे व्यापक सवारीसाधन बीमा सलिको इन्स्योरेन्सबाट हुने र उक्त सवारीसाधनअन्तर्गत भविष्यमा कुनै दाबी परेमा बीमा कम्पनीले दाबी भुक्तानी प्रक्रियालाई थप सरल, सहज तथा शीघ्र भुक्तानी गर्ने समेत जनाइएको छ ।