काठमाडौं । नेपाल टेलिकमले २०८१ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरूका लागि एसईई अफर सार्वजनिक गरेको छ । यसअन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका परीक्षार्थीहरूलाई २० रूपैयाँमा सिमकार्ड उपलब्ध गराउने जनाएको छ ।
कम्पनीका अनुसार उक्त सिमकार्डमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ । एसईई अफर तथा बोनस अन रिचार्ज २०८१ चैत १५ देखि २०८२ असार ३० गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ । उक्त सिमकार्ड टेलिकमका देशभरका कार्यालयहरूबाट उपलब्ध हुनेछ । सिमकार्ड एक्टिभ गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफरहरू उपलब्ध हुनेछन् । पहिलेदेखि नै टेलिकमको सिमकार्ड प्रयोग गर्ने परीक्षार्थीका लागि समेत सोही सिमकार्डमा अफरहरू उपभोग गर्न सकिने व्यवस्था गरिएको छ । नयाँ सिम प्राप्त गरेका परीक्षार्थीहरूले सिमकार्डमा मेन ब्यालेन्सको रूपमा उपलब्ध हुने नौ रूपैयाँ ८० पैसाबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् । यसका अतिरिक्त ३० दिन सम्मका लागि प्रतिदिन टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन–नेट भ्वाइस सेवा, १० वटा अन–नेट एसएमएस र ५०० एमबी डाटा समेत अफरअन्तर्गत उपलब्ध हुनेछ भने प्रत्येक दिन प्राप्त हुने रिसोर्स सोही दिनका लागि मात्र कायम रहनेछ ।
नयाँ सिम प्राप्त गर्नका लागि परीक्षार्थीले एसईईको प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्रलगायतका सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ । साथै, सिमकार्ड एक्टिभ गर्नका लागि स्टार१४१४ ह्याक्स डायल गर्नुपर्नेछ । सोपश्चात अफर प्राप्त गर्नका लागि स्टार१६००ह्याक्स डायल गरी निर्देशन फलो गर्नुपर्नेछ ।
यस अफरअन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा ५० रूपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पाँच सय एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल गर्न र ५० वटा अन–नेट एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । रिचार्जमा प्राप्त हुने बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नुपर्छ ।