काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले उत्पादन र उत्पादकत्व बढाउने काममा लाग्न युवा उद्यमीहरूलाई आग्रह गरेका छन् ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको लुम्बिनी प्रदेश च्याप्टरको भैरहवामा शुभारम्भ गर्दै उनले गतिशील समय र तीव्र प्रतिस्पर्धाको दुनियाँमा समयको गतिलाई बुझ्न, प्रतिस्पर्धामा आफ्नो स्थान सुरक्षित राख्ने गरी अगाडि बढ्न युवा उद्यमीहरूलाई सुझाव दिए । सरकार सम्पूर्णरूपमा उद्यमीहरूको साथमा रहेको भन्दै उनले ‘देश हामीले बनाउने हो, हामीले बनाउँछौँ’ भन्ने सन्देश युवाहरूमा पुर्याउन उद्यमीहरूलाई आग्रह गरे । कार्यक्रममा अर्थमन्त्री पौडेलले औषत काम गरेर बस्ने सुविधा सरकारलाई नभएको भन्दै सरकारले कानुनमा, नीतिमा सुधार गरेर सुधारको काम गरेको बताए । उनले सरकारले विगतदेखिका समस्या गर्न, निजी क्षेत्रका समस्या समाधान गर्न उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे । हाल सुधार गरिएको कानुनमा सुधार मात्रै रहेको उनको भनाइ छ । सुधारको काम, अनुकूल व्यावसायिक वातावरण थप बढाउँदै लैजाने उनले प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युवाहरूलाई उद्यमशील बनाउन नीतिबाटै सहजीकरण, प्रोत्साहन गर्न आवश्यक रहेकोमा जोड दिए । देशमा रोजगारी बढाउन, औद्योगीकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीहरूलाई प्रोत्साहन, प्रेरणा, हौसला दिन आवश्यक रहेको उनको भनाइ छ । आगामी बजेटमा युवालक्षित कार्यक्रम ल्याउन समेत उनले अर्थमन्त्रीसँग आग्रह गरे । ‘विदेशमा अध्ययन गरेर आफ्नै देशमा केही गर्नुपर्छ भनेर आउने युवाहरूको संख्या ठूलो छ । उनीहरूलाई देशमै उद्यमी बनाउन हौसला प्रदान गर्न आवश्यक छ’, उनले भने ‘सरकारले आगामी बजेटमार्फत युवाहरूलाई प्रोत्साहन गर्ने नीति लिने विश्वास छ ।’
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले कानुन संशोधन, स्टार्टअप नीति निर्माणमा परिसंघ र युवा उद्यमी मञ्चले महत्वपूर्ण योगदान गरेको बताए । उनले सरकारले युवाहरूलाई उच्च प्राथमिकतामा राख्दै सोहीअनुरूप नीति बनाएको र बनाउने क्रममा रहेको जानकारी दिए । उनले कम्पनी दर्ता घरमै बसेर गर्न सकिने र प्रविधिको प्रयोगलाई बढावा दिइएकाले युवाहरूलाई देशभित्रै काम गर्न वातावरण सरकारले बनाइरहेको बताए ।
नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले युवा पलायनता बढिरहेको बेलामा देशभित्रै केही गर्नुपर्छ भनेर यही उद्यमी बन्ने युवाहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उद्योग व्यवसाय ओरालो लागिरहेको, निराशा बढिरहेको र थोरै भए पनि उद्योगी व्यवसायीहरू समेत पलायन हुने अवस्था सिर्जना हुनु निकै चिन्ताको विषय रहेको उनको भनाइ छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष आशीष अग्रवालले युवाहरूलाई नीतिबाट प्रोत्साहन गर्ने हो भने देशभित्र धेरै अवसर रहेकाले युवा देशमै बसेर केही गर्न सक्ने बताए । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टरका अध्यक्ष राजन कसजुले स्थानीय मौलिकतामा आधारित रही राष्ट्र निर्माणमा समर्पित भई विश्व दृष्टिकोणका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी प्रदेश च्याप्टरको बोर्डमा राजन कसजुसँगै विकास पाण्डे, अभिषेक पाठक, अर्जुन पाठक, रोनिश श्रेष्ठ, सुरज उप्रेती, विवेक कसौधन, अभिनव थापा रहेका छन् ।