तेहरान । इरानले आफ्नो तेस्रो ठूलो भूमिगत क्षेप्यास्त्र शहरको भिडियो सार्वजनिक गरेको छ । भिडियोमा सुरुङभित्र मिसाइल र आधुनिक हतियारहरू देखिन्छन् । भिडियो ८५ सेकेन्डको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो आणविक कार्यक्रम अन्त्य गर्न चेतावनी दिएको समयसीमा सकिनै लाग्दा भिडियो जारी गरिएको छ ।
यो भिडियो इरानको सरकारी सञ्चारमाध्यमले जारी गरेको छ । यसमा शीर्ष सैन्य कमान्डर मेजर जनरल मो. हुसेन बाघरी र इरान रिभोलुसनरी गार्ड एयरोस्पेस फोर्स प्रमुख अमिर अली हाजिजादेह पनि देखिएका छन् । भिडियोमा इरानका आधुनिक क्षेप्यास्त्र र उन्नत हतियारहरु देखिन्छ । इरानको सबैभन्दा खतरनाक खैबर शकेन, कादर–एच, सेजिल र पावेह जमिन आक्रमण गर्ने क्रुज मिसाइलहरु पनि देखिन्छन् ।
हतियारहरु लामो सुरुङ र गुफाहरुमा छन् । यसमा ब्लास्ट ढोका वा छुट्याउने पर्खाल छैन । यस्तो अवस्थामा यस्तो सुरुङमा आक्रमण भयो भने खतरनाकक विस्फोटको सम्भावना हुन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अमेरिकाको नयाँ आणविक सम्झौता स्वीकार गर्न आग्रह गरेका छन् । सो सम्झौताअनुसार इरानले युरेनियम संवद्र्धन र क्षेप्यास्त्र विकास गर्न पाउनेछैन । इरानले सम्झौताअनुसार नगरे कडा प्रतिबन्धहरुको सामना गर्नुपर्ने सैन्य कारबाही भोग्नुपर्ने चेतावनी पनि अमेरिकाले दिएको छ । इरानले भने आफ्नो आणविक कार्यक्रम अन्त्य गर्ने हो र क्षेप्यास्त्र क्षमता नबढाउने हो भने विदेशी खतरा बढ्ने बताउँदै आएकोे छ ।