काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं बाल अस्पताल निर्माणको लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । गत वर्ष पनि कम्पनीले अस्पताललाई आर्थिक सहयोग प्रदान गरेको थियो ।
काठमाडौं बाल अस्पताल निर्माणको उद्देश्यले नेपालका लाखौं बालबालिकाको बढ्दो स्वास्थ्य सेवा आवश्यकता, विशेषगरी निम्न आय परिवारको बालबालिकाहरूको लागि किफायती, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु हो । यस महत्वपूर्ण परियोजना निर्माणका लागि सिटिजन्स लाइफ इन्स्योरेन्सका अध्यक्ष प्रदीपजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष प्रोफेसर डा भगवान कोइरालालाई पाँच लाखको चेक हस्तान्तरण गरेका छन् । सिटिजन लाइफको यस सहयोगले काठमाडौं बाल अस्पताल निर्माणलाई केही मद्दत हुने अपेक्षा राखेको छ ।
सिटिजन लाइफले आफ्नो सामाजिक जिम्मेवारीअन्तर्गत विभिन्न पहलहरू गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रमहरू सञ्चालन गरी आफ्नो दायित्व पूरा गर्दै आएको छ । सिटिजन लाइफले विभिन्न शैक्षिक, स्वास्थ्य र पर्यावरणीय कार्यक्रमहरूको आयोजना गरी नेपालका विभिन्न स्थानमा सामाजिक सुधारका लागि काम गर्दै आएको छ । भविष्यमा पनि कम्पनीले यस्ता सहयोग साथै अरू पनि सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै समुदायमा सकारात्मक प्रभाव पुर्याउने प्रयास गर्ने प्रतिवद्धता जनाएको छ ।