काठमाडौं, साउन १३
एनआईसी एसिया बैंकले समयअनुरूप परिस्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै सेवाग्राही आफैँ बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने डिजिटिल एकाउन्ट प्रणालीको सुरुवात गरेको छ ।
ग्राहकहरूले उक्त डिजिटल एकाउन्ट प्रणालीमार्फत भौतिक फारमको सट्टा खाता खोल्नको लागि आवश्यक आफ्नो विवरण, फोटो, औँठाछाप, हस्ताक्षरलगायतका विवरणहरू डिजिटल प्रणालीबाटै भरी बचत खाता सहज तरिकाले खोल्न सक्ने व्यवस्था बैंकले गरेको छ । यस प्रणालीमा सेवाग्राहीहरूले चामत्कारिक सुविधाहरूले भरिपूर्ण नौवटा न्यू प्रिमियम सुपर चामत्कारिक खाता योजनाहरूमध्ये आफूले इच्छाएको खाता छनौट गरी बिनाझन्झट आफ्नो खाता डिजिटल रूपमा खोल्न सक्नेछन् ।
कम्प्युटरमा दक्षता नपुगेका महानुभावहरूका निम्ति बैंककै कर्मचारीहरूको सहयोगमा डिजिटल रूपमा खाता खोल्न सकिने समेत व्यवस्था गरेको छ । जसका लागि बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरूमा छुट्टै डिजिटल लबीको व्यवस्था गरेको छ । देशको पहिलो डिजिटल बैंक बन्ने दीर्घकालीन लक्ष्यअनुरूप डिजिटल माध्यमबाट बैंकिङ कारोबारलाई बढाउनुका साथै आफ्ना अधिकतम सेवाहरूलाई डिजिटल माध्यममा लैजाने क्रममा डिजिटल बैंकिङ प्रणाली जस्तो नवीनतम सुविधा ल्याएको छ । यसरी खाता खोल्दा ग्राहकहरूलाई लामो फारम भर्ने तथा आफ्नो पालो कुरेर बस्ने झन्झटबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।
बैंकले यसअघि आइसर्भ प्रणालीमार्फत सेवाग्राहीले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी आफ्नो वा आफूले चाहेको यस बैंकको खातामा नगद रकम जम्मा गर्ने भौचर भर्न मिल्ने अनलाइन प्रणालीको शुभारम्भ गरिसकेको छ । यसको अलावा बैंकले मोबाइल बैंकिङ सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौज्दात विवरण, चेक अनुरोध, ई–कमर्श दर्ता, व्यालेन्स सर्टिफिकेट अनुरोध र स्टेटमेन्ट अनुरोध गर्नका लागि समेत अनलाइन प्रणालीमार्फत सेवा दिइरहेको छ । पहिलो डिजिटल बैंक बन्ने अभिप्रायअनुसार यस बैंकले आफ्नो कार्यालयमा कागजविहीन वातावरणको सृजना गरिरहेको छ । यससँगै बैंकले आफ्ना सेवाहरू तथा सुविधाहरू डिजिटल माध्यमबाट प्रवाह गरी नेपाल सरकारको क्यासलेस इकोनोमीको अवधारणालाई सहयोग पु-याउने रणनीति लिएको छ ।
बैंकको डिजिटल सर्भिसहरू जस्तैः डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङका प्रयोगकर्ताहरू २२ लाख रहेको अवस्थामा बैंकले विद्युतीय भुक्तानी तथा डिजिटल सेवाहरूलाई अझ परिस्कृत बनाउँदै लैजाने उद्देश्यअनुरूप विद्युतीय भुक्तानी तथा सेवागत क्षेत्रहरूमा समेत डिजिटल प्रणालीको विकास गरिरहेको छ । साथै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्नका निमित्त बैंकले मोबाइल बैंकिङ वा कार्डहरूमार्फत देशभरका दुुई हजार पाँच सयभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा कारोबार गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।