काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाले टुँडिखेलमा आयोजना गरेको घोडेजात्राको अवलोकन गरेका छन् । नेपाली सेनाले घोडेजात्रा २०८१ का अवसरमा शनिबार टुँडिखेलमा विशेष समारोहको आयोजना गरी घोडेजात्रा मनाएको छ ।
राष्ट्रपति पौडेलले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन गरेका थिए । समारोहमा घोडा दौड, घोडा जम्पलगायत विभिन्न रोचक कला प्रदर्शन गरिएको थियो । घोडाले गर्ने सामान ओसारपसार, यात्राको साधन, कृषि, शिकार, लडाइँ, उत्सव, खेलका झलक पनि कार्यक्रममा देखाइएका थिए । त्यस अवसरमा कुकुरबाट पनि विभिन्न कला प्रदर्शन गराइएका थिए । प्रदर्शनमा उत्कृष्ट हुनेलाई राष्ट्रपति पौडेलले पुरस्कार समेत प्रदान गरे । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपप्रधानमन्त्री, मन्त्री, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।
प्रत्येक वर्ष चैत्र कृष्ण औँसी तिथिमा काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमसहित मनाउने गरिन्छ ।
किंवदन्तीअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय तिनमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै, सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी त्यही दिन राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा रहेको जनाइएको छ ।
चामुण्डा माई र बालकुमारी माईको मिलन गराएर मनाइयो जात्रा
काठमाडौ । घोडेजात्राका अवसरमा ललितपुरस्थित चामुण्डा माई र बालकुमारी माई देवीलाई खटमा राखेर टोल टोलमा घुमाइ एकापसमा मिलन गराएर जात्रा मनाइएको छ । परम्पराअनुसार मङ्गलबजार क्षेत्रमा पुगेपछि दुवै देवीलाई मिलन गराई पुनःआफ्नै मन्दिरमा राखिने गरिएको छ ।
ललितपुर महानगरपालिका वडा नं ९ र ११ को पहलमा धिमे बाजासहित पूजाआजा गरी विभिन्न रुटमा घुमाएर आज घोडेजात्राका अवसरमा पाटनका स्थानीयले यो जात्रा मनाएका हुन् । स्थानीयलाई रोगव्याधि, भयबाट मुक्त गराउन तथा भौतिक बाधा अड्चन नहोस् भनेर पाटन नगरभित्र लिच्छवीकालदेखि नै यो जात्रा मनाइँदै आएको यस क्षेत्रका स्थानीयले बताएका छन् । किंवदन्तीअनुसार दिदी बालकुमारी माईलाई बहिनी चामुण्डा माईले तीनपटक परिक्रमा गरेपछि दुवै देवीलाई पुनःआफ्नै मन्दिरमा राखिने गरिएको चामुण्डा माई जात्रा व्यवस्थापन समितिका सचिव राजेश्वर महर्जनले जानकारी दिए । यस क्षेत्रका स्थानीयले भेला भई खानाका परिकार खाएर नाँचगान गरी एकअर्कामा मिलन र खुसी साटासाट गर्दै नायखी बाजाको तालमा देवीको परिक्रमा गराई यो जात्रा मनाएका छन् ।