बुटवल । पहिलो चरणमा बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नतिका क्रममा करिब तीन सयभन्दा बढी वरपिपलका चौतारी काटिएको छ । सडक किनारमा रहेका करिब सात हजार रुख काटिएको छ भने तीन सयभन्दा बढी वरपिपलका चौतारी कटानमा परेका छन् ।
सडक किनारका रुख, चौतारी र यात्रु प्रतीक्षालयसमेत हटाउँदा अहिले बुटवल–गोरुसिङ्गे सडकखण्ड उजाड देखिएको बुटवल–गोरुसिङ्गे सडक आयोजना बुटवल प्रमुख कुशलता न्यौपानेले बताएकी छिन् । न्यौपानेले करिब सात हजार रुख कटान भएकाले अब एक रुख बराबर १० रुख रोप्न आयोजनाले वन विभागलाई करिब चार करोड रुपियाँ उपलब्ध गराइसकेको बताइन् ।
बुटवलदेखि गोरुसिङ्गेसम्मको करिब ५० किलोमिटर सडकखण्डमा झण्डै तीन सय वरपिपल र शमीका चौतारी काटिएको बताउँदै वन तथा वातावरणविज्ञ युवराज कँडेलले वातावरणका दृष्टिले चिन्ताजनक कुरा भएको बताए । गर्मीमा वरपिपल र शमीको चौतारीमा बस्दा ज्येष्ठ नागरिकलाई गर्मीको महसुस नहुने र दिन कटाउने माध्यम बनेको थियो ।
विकासका लागि सडक विस्तार हुनु खुसीको कुरा भए पनि सडक किनारमा रहेका वरपिपलका चौतारी काटिदा आफूलाई निकै दुःख लागेको बुटवल–१७, तामनगरका स्थानेश्वर पौडेलले बताए । वरपिपल र शमीका चौतारीमा बसेर दिन कटाउने आफूहरू जस्ता धेरै ज्येष्ठ नागरिकहरुलाई अब सबै रुखकाटिएपछि बसिबियाँलो गर्ने ठाउँसमेत नहुने उनले बताए ।
२०१९ सालमा तत्कालीन राजा महेन्द्र शाहको पालामा बनेको बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड ६२ वर्षपछि विस्तारको काम भइरहेको हो ।