काठमाडौं । राजावादीको प्रदर्शनका क्रममा यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएका घटनाको सत्यतथ्य छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबार बिहान सिंहदरबारमा बसेको बैठकबाट सरकारलाई यस्तो निर्देशन दिइएको हो ।
सभापति अम्मरबहादुर थापाका अनुसार प्रदर्शनक्रमका घटनाप्रति समितिले खेद प्रकट गरेको छ । “२०८१ चैत्र १५ गते शुक्रबारको दिन ज्ञानेन्द्र शाहको नाममा भएको अराजक गतिविधिबाट दुईजना नेपाली नागरिकले ज्यान गुमाउनुपरेको, सुरक्षाकर्मीहरू घाइते भएका र सार्वजनिक तथा निजी घर, सवारीसाधनलगायत सम्पत्तिमाथि आगजनी, तोडफोड, लुटपाटबाट भएको जनधनको क्षतिप्रति यो समिति गम्भीर बनेको छ,” उनले भने ।
समितिले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रदर्शनक्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । घाइतेको उपचारका निम्ति आवश्यक प्रबन्ध मिलाउन पनि सरकारलाई निर्देशन दिइएको छ ।