काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरेको जरिवानासम्बन्धी पत्र निर्मलनिवासले बुझ्न नमानेपछि हुलाकबाट पठाइएको छ । पूर्वराजा शाहलाई महानगरले विभिन्न नौ शीर्षकमा आठ पत्र काट्दै सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको पत्र लिएर आइतबार बिहान महानगरको नगरप्रहरी टोली निर्मलनिवास पुगेका हुन् ।
हुलाकबाट जरिवानापत्र पठाइएको बताउँदै महानगरका नगरप्रहरी उपरीक्षक दिनेश अर्यालले भने, “आज नगरप्रहरी टोली जरिवानापत्र लिएर निर्मलनिवास पुगेको थियो । तर, जरिवानापत्र बुझ्न मानेन । भर्खरै हुलाकमार्फत पत्र पठाइसकेका छौँ, ।”
राजावादीको प्रदर्शनक्रममा शुक्रबार तीनकुनेमा महानगरको दमकल तोडफोड गरिँदा आगो निभाउन गएका पाँच नगरप्रहरी घाइते भएका थिए । प्रदर्शनक्रममा दुईजनाको मृत्यु हुनुका साथै अधिकांश भौतिक संरचनामा क्षति पुगेको थियो ।
राजावादीको प्रदर्शनक्रममा शुक्रबार महानगरको दमकल फुटाएको, तीनकुने क्षेत्रको रुखबिरुवा र रेलिङ तोडफोड गरेको, कोटेश्वर, महादेवस्थान, जडीबुटी क्षेत्र, सिनामंगल सडकपेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरले जरिवाना तोकेको हो ।