काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सगरमाथामा थुप्रिएका फोहोर संकलन गर्न प्रोजेक्ट केयर अभियानअन्तर्गत राउन्ड टेबल नेपालसँग सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको छ । बिहीबार काठमाडौंको ग्लोबल कलेजमा आयोजित एक विशेष समारोहका बीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सो कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्वलन गरेर कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवाल, निवर्तमान अध्यक्ष नितेश कुमार अग्रवाल तथा यस योजनाको प्राविधिक साझेदारको रूपमा रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि छिरिङ शेर्पाले संयुक्तरूपमा गरेका थिए ।
नेपाल लाइफले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा सफाइ अभियान सञ्चालन गर्न राउण्ड टेबल नेपाल तथा प्राविधिक पार्टनर सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)सँग सहकार्य गरेको कुरा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए । प्रमुख कार्यकारी अधिकृत पराजुलीले सगरमाथा नेपाल मात्र नभई विश्वकै गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताए । राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले सगरमाथा क्षेत्रमा यसपटक पाँच हजार किलो फोहोर संकलन गर्ने लक्ष्य रहेको छ भने आगामी दिनमा २५ हजार किलो फोहोर व्यवस्थापन गर्ने योजना बनाइएको कुरा बताइ । साथै, उनले राउन्ड टेबल नेपालले शिक्षा, स्वास्थ्य तथा वातावरणका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
राउन्ड टेबल नेपालका निर्वतमान अध्यक्ष नितेश कुमार अग्रवालले सगरमाथा विश्वकै आकर्षण भएकाले आरोहीहरूको संख्यासँगै फोहोर बढ्ने क्रम तीव्र रहेको बताए । उनले नेपाल सरकार तथा अन्तर्राष्ट्रिय जगतले पनि सफाइ प्रयास जारी राखे पनि प्रभावकारी हुन नसकेको भन्दै यस अभियानले ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । यस क्रममा कुहिने फोहोरलाई आधार शिविरभन्दा तल पुर्ने र नकुहिने फोहोरलाई ३० किलोको झोला बनाई काठमाडौं ल्याइने बताउँनुभयो । साना प्रयासहरूले नै ठूलो प्रभाव पार्ने भन्दै अग्रवालले नेपाल लाइफलाई अभियानमा सहभागी भएकोमा धन्यवाद दिए ।
सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि छिरिङ शेर्पाले यो अभियान ढिलो भए पनि सुरु हुनु सकारात्मक रहेको बताए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा सगरमाथाको फोहोरबारे नकारात्मक समाचारहरू आउन थालेको उल्लेख गर्दै, यो अभियानले समस्या समाधान गर्न महत्वपूर्ण योगदान दिने बताए । नेपाल सरकारले आधार शिविरभन्दामाथि जाने प्रत्येक आरोहीले कम्तीमा एक किलो फोहोर ल्याउनुपर्ने नियम बनाए पनि यो समस्याको पूर्ण समाधान हुन सकेको बताए ।
सगरमाथा, संसारको सबैभन्दा अग्लो हिमाल, हरेक वर्ष हजारौँ पर्वतारोहीहरूलाई आकर्षित गर्ने गरेको तर मानव गतिविधिको वृद्धिसँगै सगरमाथा फोहोरको डंगुर बन्दै गएको कुरा यस कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार क्यालले बताए । त्यागिएका टेन्टहरू, अक्सिजन सिलिन्डरहरू, खानेकुरा प्याकेजिङ, मानव फोहोर र पर्वतारोहण उपकरणहरू हिमालमा छोडिएको कारण यो ‘विश्वकै सबैभन्दा अग्लो फोहोर थलो’ नबनोस् भन्ने अभिप्रायका साथ यो सहकार्य गरिएको बताए ।
सो कार्यक्रममा नेपाल लाइफका कर्मचारीहरू, राउन्ड टेबल नेपालका पदाधिकारीहरू तथा विभिन्न सञ्चारमाध्यमबाट सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । नेपाल लाइफ इन्स्योरेन्सले सामाजिक संस्थागत उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशव्यापीरूपमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।