काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । होटल भ्यु भक्तपुर, जगातीमा सम्पन्न सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष पद्मासना शाक्यद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । सभामा संस्थाकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको समग्र अवस्था तथा प्रगतिबारे प्रकाश पारिन् । साथै, सभामा सेयरधनीहरूले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले अर्को वर्ष लाभांश बाँड्न सक्ने अवस्थामा संस्थालाई पु¥याउन प्रतिबद्ध भएर काम गरेको बताइन् ।
स्थापनाको छ वर्ष पूरा गरेको संस्थाकोे गत आवसम्ममा १४ वटा जिल्लामा ३६ वटा शाखा रहेका छन् । १० करोड ९३ लाख ७५ हजार रूपैयाँ सेयरपुँजी भएको संस्थाको जगेडा कोषमा चार करोड २३ लाख ३४ हजार सात सय ३२ रूपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी सात दशमलव २२ ले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष ३८ दशमलव २५ले ऋणात्मक रहेकोमा समीक्षा अवधिमा उल्लेख्य सुधार भएको हो । संस्थाले समीक्षा अवधिसम्ममा ३३ हजार सात सय १८ सदस्यहरूबाट ९८ करोड ७८ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ ।