काठमाडौं । देशको निर्जीवन बीमा बजारमा विगत २९ वर्षदेखि उच्च गुणस्तरीय सेवा पुर्याउँदै आएको नेको इन्सुरेन्स लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत बेलाबखतमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ । नेपाली समाजमा अझै पनि बीमाबारे व्यापक जनचेतना नभएको अवस्थामा बीमाबारे प्रचारप्रसारको साथै स्वस्थ दिमागका लागि स्वस्थ शरीर आवश्यक भएको र स्वस्थ शरीरको लागि खेलकुद अपरिहार्य भएकाले यहि चैत्र ९ गते शनिबारका दिन धन्वन्तरी फुटसल, हाँडीगाउँमा मैत्रीपूर्ण मनोरञ्जनात्मक ‘पाँचौँ एकदिवसीय कर्पोरेट फुटसल प्रतियोगिता २०८१‘ सफलतापूर्वक सम्पन्न गरेको छ ।
उक्त प्रतियोगितामा विभिन्न बैंकहरू र आयोजक नेको इन्सुरेन्स समेत १६ टिमले प्रतिस्पर्धा गरेका थिए । सो प्रतियोगितामा ग्लोबल आईएमई बैंक टिमले प्रथम स्थान र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक टिमले द्वितीय स्थान प्राप्त गर्न सफल भएका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले स्वागत गरेको उक्त कार्यक्रमको उद्घाटन कम्पनीका अध्यक्ष रमेशकुमार निरौला तथा प्रमुख अतिथि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरूङबाट संयुक्तरूपमा भएको थियो । कार्यक्रम समापनको अवसरमा विजयी टिम तथा खेलाडीलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो । शनिबार दिनभर सञ्चालन भएको खेल निकै प्रतिस्पर्धात्मक र मनोरञ्जनात्मक रहेको थियो ।