काठमाडौं । मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्सको टप १० मा पुग्ने हरेक प्रतिभालाई तीन–तीन लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ । इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले हालै एक कार्यक्रमका बीच सो घोषणा गरेका हुन् ।
विश्वभर रहेका नेपाली जातिका एक सय २०–एक सय २० प्रतिभाका बीच अन्तिम प्रतिष्पर्धा हुने यी दुवै सोहरूमा टप १० सम्म पुग्ने प्रतिभालाई सम्मान गर्न हरेकलाई तीन–तीन लाख रूपैयाँले पुरस्कृत गर्ने निर्णय गरिएको अधिकारीले जानकारी दिए । मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन २ को काठमाडौं अडिसनको पूर्वसन्ध्यामा बिहीबार साँझ काठमाडौंमा सो कार्यक्रमको आयोजना गरिएको थियो । यी दुवै सोले विश्वभरका नेपाली जातिका प्रतिभाहरूलाई एक ठाउँमा ल्याउने उद्देश्य राखेको छ । कार्यक्रममा दिइएको जानकारीअनुसार अमेरिका, बेलायत, पोर्चुगल, अस्ट्रेलिया, जापान, हंगकंग, थाइल्यान्ड, दुवाई, कतार, सिलगुडी, मुम्बई, पोखरा, नेपालगञ्ज, बिर्तामोडलगायतका ठाउँहरूमा दुवै सोका अडिसनहरू सम्पन्न भइसकेका छन् ।
दुवै सोका विजेताहरूले एक एक करोड पुरस्कार पाउने छन् भने उपविजेताले २५ लाख तथा तृतीय हुनेले १० लाख पुरस्कार पाउने छन् । यसबाहेक समूह नृत्य प्रतिस्पर्धाका विजेताले २० लाख, उपविजेताले १० लाख र तृतीय हुनेले पाँच लाख पाउने जानकारी पनि कार्यक्रममा दिइएको थियो ।