काठमाडौं । सिप्रदी ट्रेडिङले टाटा मोटर्सको नयाँ इलेक्ट्रिक गाडी कर्भईभी एसयुभी कुपे र नेक्सन के३ ईभी पोखरामा सार्वजनिक गरेको छ ।
चैत १७ सम्म चल्ने ‘वाडा अटो सो–२०२५’ को अवसरमा कम्पनीले नयाँ ईभीहरू पोखरामा उपलब्ध गराएको हो । पोखरा महानगर प्रमुख धनराज आचार्य, सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ, सीओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्त जंग सिजापती, टाटा मोटर्स रिजनल कस्टमरकेयर (दक्षिण एसिया) हेड रनधिर कुमार चौधरी र टाटा मोटर्स कन्ट्री म्यानेजर प्रसन्न रङ्गनाथले संयुक्तरूपमा नयाँ ईभीहरू सार्वजनिक गरेका थिए । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को संयुक्त आयोजनामा पोखरामा ‘वाडा अटो सो–२०२५’ को आयोजना भएको हो ।
कम्पनीका अनुसार टाटा नेक्सन के३ इभीमा एक सय ९० मिमी ग्राउन्ड क्लियरेन्स, छ एयरब्याग, ३६०–डिग्री क्यामेरा, १२–इन्च टचस्क्रिनजस्ता विशेषताहरू रहेका छन् । यसले नेपाली भौगोलिक अवस्था अनुरूप सहज यात्रा दिने विश्वास गरिएको छ । यस गाडीको सुरुवाती मूल्य ४८ लाख ९९ हजार रूपैयाँ तोकिएको छ । यस्तै, कर्भ ईभीमा ५५ किलोवाट आवरको ब्याट्री प्याक र ९८ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको छ । पाँच लिटरको बुटस्पेस र १८६ एमएमको ग्राउन्ड क्लियरेन्स भएकाले नेपाली बाटोमा सजिलै आरामदायी यात्रा गर्न सकिनेछ । यसको टप भेरियन्टको मूल्य ५६ लाख ९९ हजार रूपैयाँ रहेको छ ।
यसमा एडीएएस लेभल २ को क्षमता रहेको छ । जसमा छ वटा एयरब्याग, अल–ह्विल डिस्कब्रेक, अटोहोल्ड, हिलस्टार्ट डिसेन्ट असिस्ट, ३६० डिग्री क्यामेरा, आई–भीबीएससहितको ईएसपी रहेको छ । गाडीमा ३१ दशमलव २४ सेन्टिमिटरको सिनेमाटिक टच स्क्रिन इन्फोटेन्मेन्ट, २६ दशमलव तीन सेन्टिमिटरको डिजिटल ककपिट, भ्वाइस–असिस्टेड पानोरामिक सनरूफ, एम्बियन्ट लाइटिङ, भेन्टिलेटेड सिटजस्ता विशेषताहरू छन् । वाडा अटो सोको स्टिल नम्बर (ए३) मा टाटाका कर्भ.ईभी र नेक्सन के३.ईभी अवलोकनका साथै बुकिङ गर्न सकिने छ । यसअघि सिप्रदीले पूर्वदेखि पश्चिमसम्म नयाँ ईभीहरू सार्वजनिक गर्दै वाडा अटो शो–२०२५ लाई लक्षित् गर्दै पोखरामा सार्वजनिक गरेको हो ।