काठमाडौं, साउन १४
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पारस लोहनी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुरका फरार प्रतिवादी नुवाकोट थानापति घर भई ललिपुर महानगरपालिका १४ तिखेदेवल बस्ने ४३ वर्षीय लोहनीलाई काठमाडौं मातातीर्थबाट सोमबार प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७६ माघ २९ गतेको फैसलाले लोहनीलाई २५ दिन कैद र २४ लाख रुपैयाँ जरिवाना हुने ठहर भए पनि लोहनी सजाय भुक्तान नगरी फरार रहेका थिए । लोहनीलाई फैसला कार्यान्वयनको लागि मंगलबार ललितपुर जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जानकारी दिएको छ ।
सीआईबीका अनुसार आकाश लामिछाने समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी पारस लोहनी भएको बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७६ माघ २९ गतेको फैसलाले लोहनीलाई २५ दिन कैद र २४ लाख रुपैयाँ जरिवाना हुुने ठहर गरेको थियो । सोपश्चात् सजाय बेरुजु रही फरार रहेका लोहनीलाई सोमबार मातातीर्थ, काठमाण्डौंबाट लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ परेका हुुन् ।
सीआईबीका अनुसार प्रतिवादी लोहनीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवाला आकाश लोहनी समेतका अन्य दुई जनालाई झुक्यानमा पारी विभिन्न मितिमा विभिन्न बैंकहरुको चेक काटी दिएकोमा बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट निज प्रतिवादीको हकमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५ (१) बमोजिम उल्लिखित सजाय हुने गरी फैसला भएको थियो ।