काठमाडौ । सामसुङ नेपालले ए सिरिजअन्तर्गत तीन मोडलमा नयाँ फोनहरू सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी ए५६ फाइभजी, ग्यालेक्सी ए३६ फाइभजी र ग्यालेक्सी ए२६ फाईभजी सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार ग्यालेक्सी ए५६ र ए३६ अहिले नै बजारमा उपलब्ध छन् भने ग्यालेक्सी ए२६ अप्रिलको पहिलो साताबाट बजारमा आउने छ । कम्पनीले पहिलो पटक, ग्यालेक्सी ए सिरिजमा ‘असम इन्टेलिजेन्स’ समावेश गरिएको जनाएको छ । यसले प्रयोगकर्तालाई शक्तिशाली, रमाइलो र सजिलो एआई टुल्स प्रदान गर्नेछ । वान युआई ७ द्वारा सञ्चालित यस असम इन्टेलिजेन्सले प्रयोगकर्ताहरूलाई अझ राम्रो खोजी र भिजुअल अनुभव प्रदान गर्ने बताइएको छ । ग्यालेक्सी ए सिरिजका फोनहरूमा अघिल्लो वर्ष अतिचर्चित गुगलको ‘सर्कल टु सर्च’ विशेषता अब थप उन्नत भई फोन स्क्रिनबाट सजिलै खोज्न मिल्ने भएको छ । अब, ‘सर्कल टु सर्च’ले स्क्रिनमा देखिएको नम्बर, इमेल ठेगाना वा युआरएल सजिलै पहिचान गर्न सक्छ ।
यस्तै, ग्यालेक्सी ए सिरिजमा अब थप उत्कृष्ट सर्जक केन्द्रित क्यामेरा प्रविधि समावेश छ । सबै डिभाइसहरूमा ५० एमपी मुख्य क्यामेरा दिइएको छ । साथै, ग्यालेक्सी ए५६ र ए३६ मा १०–विट एचडीआर फ्रन्ट क्यामेरा छ । यसले उज्यालो र स्पस्ट सेल्फी लिन सकिन्छ । ग्यालेक्सी ए५६ मा भने १२ एमपी अल्ट्रा–वाइड लेन्स दिइएको छ । ‘बेस्ट फेस’ विशेषता ग्यालेक्सी ए५६ मा मात्र उपलब्ध छ, जसले समूह फोटोहरूमा सबैको उत्कृष्ट अभिव्यक्ति छनोट गरी उत्तम तस्बिर बनाउँछ । ’नाइटोग्राफी’ प्रविधिको सुधारसँगै, ग्यालेक्सी ए५६ मा १२ एमपी सेल्फी क्यामेरामा ‘लो न्वाइज मोड’ थप गरिएको छ । साथै, ए सिरिजमा अब छ पुस्तासम्मको एन्ड्रोइड ओएर र वान युआई अपडेट उपलब्ध हुनेछ । साथै, छ वर्षसम्म सुरक्षा अपडेटहरू दिइनेछ ।
यी फोनहरूमा पाँच हजार एमएएच ब्याट्री समावेश गरिएको छ भने ४५ वाट चार्जिङ पावर र सुपर–फास्ट चार्जिङ २.० समर्थन गर्नेछन् । कम्पनीका अनुसार ग्यालेक्सी ए५६ फाईभजी १२/२५६ र ८/२५६ जिबी भेरियन्टमा उपलब्ध छ । यसको मूल्य क्रमशः ७० हजार नौ सय ९९ रूपैयाँ र ६५ हजार नौ सय ९९ रूपैयाँ तोकिएको कम्पनीले जनाएको छ । यस्तै, ग्यालेक्सी ए३६ फाइभजी भने १२/२५६, ८/२५६ र ८/१२८ जीबी भेरियन्टमा उपलब्ध गराइएको छ । यसको मूल्य बजारमा क्रमशः ५९ हजार नौ सय ९९ रूपैयाँ, ५४ हजार नौ सय ९९ रूपैयाँ र ४८ हजार नौ सय ९९ रूपैयाँ तोकिएको छ ।