काठमाडौ । उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानीको वातावरण निर्माणको लागि राजनीतिक स्थायित्व जरुरी रहेको बताएका छन् । गैरआवासीय नेपाली संघले माल्टामा आयोजना गरेको १६ औँ युरोप क्षेत्रीय सम्मेलनमा उनले सरकारले लगानीको वातावरण बनाउन पर्यन्त गरे पनि राजनीतिक अस्थिरताले सोचेअनुरूप हुन नसकेको उल्लेख गरे । ‘अहिले सरकारको प्राथमिकतामा नीतिगत सुधार गर्नेछ । हाम्रा कानुन धेरै बोझिला छन् । त्यसैले मिलाउन पर्ने धेरै छ । प्रणालीगत समस्यालाई सुधार्न भनेरै अध्यादेश ल्याइएको हो’, उनले भने । कार्यक्रममा उनले अब विदेशमै बसेर नेपालमा उद्योग दर्ता गर्न सकिने बताए ।
संघका अध्यक्ष बद्री केसीले लगानी गर्दा गैरआवासीय नेपालीहरूलाई विदेशीलाई जस्तो न्यूनतम र उच्चतम भनिरहन जरुरी नरहेको बताए । ‘नेपालमा लगानी गर्न चाहने नेपाली प्रशस्त छन् तर नेपाल लगानी सम्मेलन गर्नेबेला संघलाई बिर्सिन्छ’, उनले भने, ‘गैरआवासीय नेपालीले जस्तो विदेशी लगानी लैजान कसैले सक्दैन । हाम्रा छोराछोरीलाई नेपालसँग जोड्न नेपालमै लगानी गर्नुपर्छ । तर सरकारले अहिले नागरिकताको खोस्टो मात्र देखाएर हामीलाई निराश बनाएको छ ।’
संघकी उपाध्यक्ष रोजिना प्रधान राईले युरोपमा महिला आउने क्रम बढेकाले धेरै सचेतता अपनाउन पर्नेमा जोड दिइन् । ‘कतिपय अवस्थामा काम गर्ने अवस्थामा महिलालाई धेरै पेलाएको अनि शोषण गरेको समेत पाइएको छ । त्यसैले हामी सचेत हुन जरुरी छ’, उनले भनिन्, ‘महिलालाई मानसिक स्वास्थ्य समस्या बढेको छ । त्यसैले युरोपमा आउँदा पहिला आफ्नो काम र काम गर्ने कम्पनीबारे बुझ्न जरुरी छ ।’ एनआरएनएकी सचिव टिका गुरुङले विश्वबजारमा गुन्द्रक कोदोको पिठो फापर हस्तकलाका सामानहरूको माग बढेको भन्दै नेपाली उत्पादनलाई विश्व बजारमा ब्रान्ड बनाउन सकिने बताइन् ।
सम्मेलनमा सहभागीहरूले राजनीतिक स्थिरता र लगानीको वातावरण बनाउन नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरूले लगानीका लागि स्पष्ट कानुन र संविधानले तोकेअनुसारको नागरिकतामा जोड दिए । उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले कानुन बनाउने प्रक्रिया लामो हुने भएकाले कतिपय अवस्थामा समस्या आएको हुनसक्ने बताए । यद्यपी सरकारले गैरआवासीय नेपालीका लागि लगानीको वातावरण सहज बनाउन प्रयास गरिरहेको उल्लेख गरे । लगानी बोर्ड कानुनी शाखाका उपसचिव हिमाल चन्द्र अर्यालले एउटै ढोकाबाट सबै काम हुने गरी कार्यविधि बनाउन लागिएको बताए ।
एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनालले विभिन्न प्रलोभन देखाएर माल्टा ल्याउने क्रम बढेको भन्दै सचेत हुनुपर्ने बताए । माल्टमा नेपाली कति छन भन्ने तथ्याङ्क नरहे पनि ३० हजारको हाराहारीमा हुन सक्ने उनको भनाइ छ । यद्यपि श्रम इजाजत लिएर आउनेको संख्या १० हजार मात्र रहेको उनले जानकारी दिए । यस्ता देशहरूमा सके दूतावास नसके पनि श्रम सहचारी पठाउन उनले आग्रह गरे ।