काठमाडौ । नेपालले संयुक्त राष्ट्र संघसँग प्रविधि र दिगो पर्यटनमा सहयोगका लागि आग्रह गरेको छ । नेपालका पर्यटकीय गन्तव्यको प्रवर्द्धन कार्यक्रमअन्तर्गत युरोप यात्रामा रहेको नेपाल पर्यटन बोर्डको टोलीले स्पेनको मड्रिडमा संयुक्त राष्ट्रसंघीय पर्यटन अधिकारीसँगको छलफलमा दिगो पर्यटनका लागि सहयोगको आग्रह गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहको नेतृत्वमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसंघ पर्यटन मुख्यालयमा भएको छलफलमा प्रविधि, डिजिटल इनोभेसन र दिगो पर्यटन विकासका क्षेत्रमा थप सहकार्यका लागि आग्रह गरेको हो । द्विपक्षीय प्रतिनिधिमण्डलको बैठकमा राष्ट्र संघ पर्यटनका एसिया–प्रशान्त क्षेत्रीय विभाग निर्देशक ह्यारी हुआङले नेपाली प्रतिनिधिमण्डलको पहिलोपटक संयुक्त राष्ट्र संघ पर्यटनको मुख्यालय भ्रमणलाई ऐतिहासिक क्षणको रूपमा उल्लेख गर्दै नेपाललाई पर्यटन विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । यस्तै, उनले नेपाललाई आगामी राष्ट्रसंघीय पर्यटन कार्यक्रमहरूमा सक्रियरूपमा सहभागी भएर प्राथमिकताहरू उल्लेख गर्दै औपचारिक प्रस्ताव पेस गरेमा थप सहयोग गर्न तयार रहेको बताए ।
यस्तै, पर्यटन विभागका महानिर्देशक डा नारायण प्रसाद रेग्मीले नेपाल–संयुक्त राष्ट्रसंघीय पर्यटनसँगको सम्बन्धलाई थप सशक्त बनाउन नेपालले अब राष्ट्र संघ पर्यटनसँग अझ घनिष्ठ सहकार्य गर्ने प्रतिबद्धता जनाए ।