सियोल । चीन, जापान र दक्षिण कोरिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका नयाँ करहरूको सामना गर्न आइतबार स्वतन्त्र व्यापार सुदृढ गर्न सहमत भएका छन् ।
कार, ट्रक र अटो पाट्र्ससहित अमेरिकी आयातको विशाल दायरामा करहरू सुरु हुनुभन्दा केही दिनअघि उच्च व्यापार अधिकारीहरूको पाँच वर्षमा त्यस्तो स्तरको पहिलो बैठकमा भएको हो ।
दक्षिण कोरिया र जापान प्रमुख अटो निर्यातकहरू हुन् भने चीन पनि अमेरिकी करहरूबाट नराम्ररी प्रभावित भएको छ । बैठकमा दक्षिण कोरियाका उद्योगमन्त्री आन डक–ग्युन, उनका जापानी समकक्षी योजी मुतो र चीनका वाङ वेन्ताओ उपस्थित थिए । ‘तीन देशले व्यापक त्रिपक्षीय स्वतन्त्र–व्यापार सम्झौताका लागि आफ्नो वार्ता तीव्र पार्न आह्वान गरे र अनुमानयोग्य व्यापार र लगानी वातावरण सिर्जना गर्न सहमत भए’, एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दक्षिण कोरियाका उद्योगमन्त्री आनले तीन देशले साझा वैश्विक चुनौतीहरूको सामना ‘संयुक्तरूपमा’ गर्नुपर्ने बताए । ‘आजको आर्थिक र व्यापार वातावरण विश्व अर्थतन्त्रको बढ्दो विखण्डनले चिह्नित छ’, उनले भने ।
‘हाम्रोवरपरको अन्तर्राष्ट्रिय वातावरण निरन्तर परिवर्तन हुँदै गइरहेको छ, अनि अनिश्चितता बढ्दै गइरहेको छ’, जापानी व्यापार अधिकारी यासुजी कोमियामाले पत्रकार सम्मेलनमा भने । रासस/एएफपी