तुलसीपुर । दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा तीन महिनापछि आज सोमबारदेखि हवाई सेवा सुरु भएको छ । विमानस्थलमा नियमित हवाई सेवा नहुँदा यात्रु नेपालगञ्ज वा भैरहवा जानुपर्ने बाध्यता छ ।
यात्रुको मागअनुसार उडान थप गर्न पनि सकिने भन्दै नेपाल एयरलाइन्सका स्टेसन इञ्चार्ज बलबहादुर सुनारले अब प्रत्येक सोमबार उडान हुने जानकारी दिएका छन् । पटक–पटक विमानस्थलमा हवाई सेवा अवरुद्ध हुँदै आएकामा यस पटक गत पुस २ गतेदेखि हवाई सेवा अवरुद्ध भएको उनले बताए ।
विमानस्थलको धावनमार्ग सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन् । हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ । उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक–पटक उठ्ने गरेको छ । अहिले १९ सिटे जहाज मात्रै सञ्चालन हुँदा पनि अनियमित हुने हुँदा यात्रु भैरहवा वा नेपालगञ्ज जानुपर्ने अवस्था रहेको छ ।