काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा गाडिएको अवस्थामा एक युवकको शव फेला परेको छ । माकलबारीमा सञ्चालित आरके मोटरसाइकल वर्कसपको पछाडि रहेको जमिनमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ का १९ वर्षीय राहुल साहको शव गाडिएको अवस्थामा फेला परेको हो ।
एक भारतीय नागरिकसहित पाँच नेपालीलाई उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानबाट लेनदेनको विषयलाई लिएर उनको हत्या भएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
प्रहरी वृत्त बौद्धको टोलीले गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारामा बसोबास गर्दै आएका साह यही चैत ११ गतेदेखि हराइरहेको भनी प्राप्त सूचनाका आधारमा खोजी थालेको थियो ।
प्रहरीले उक्त घटनामा संलग्न भारतीय नागरिक २९ वर्षीय सुनिल शर्मासहित सर्लाहीको चक्रघट्टा गाउँपालिकाका २२ वर्षीय निपु मण्डल, सोही ठाउँका १८ वर्षीय विजय यादव, १८ वर्षीय करनकुमार महतो, २३ वर्षीय जोधन मण्डल र ४५ वर्षीय उत्तम मण्डल पक्राउ गरेको छ ।
काठमाडौँ जिल्ला अदालतबाट निजहरुलाई पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।